Logo

राजनीति

लोकतन्त्र व्यावहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयताविरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति



काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे ।

उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक हुने बताए । उनले भने, ‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ । सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ । लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो । स्थानिय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ । ’
‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो? मतदान गर्ने मात्र कि त्यसको परिणाममा जनताले अनुभूति गर्ने पनि?’ भन्ने प्रश्न गर्दै उनले लोकतन्त्रको सार जनताले प्रत्यक्ष अनुभव गर्न पाउनु रहेको उल्लेख गरे ।

त्यसैगरी, उनले संघीयताप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको स्पष्ट पारे ।

उनले भने, ‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? व्यवहारिक लोकतन्त्र खोजेको हो की औपचारिक लोकतन्त्र खोजेको हो ? लोकतन्त्र भनेको मतदान हाल्ने मात्र हो की त्यसको परिणाममा जनताले अनुभूति पनि गर्ने हो? संघीयता आफैंमा महँगो पनि होइन, खर्चिलो पनि होइन, अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने त्यसलाई दरिलो र व्यवस्थित नगर्ने अनि त्यसलाई आरोप लगाउने त्यो न्याय हुँदैन । एए चिकित्सक, डाक्टर खराब हुनसक्छ तर चिकित्सक विज्ञान खराब होइन । यस्तो किसिमको परिभाषाले लोकतन्त्रको हातखुट्टालाई कमजोर गराउन खोज्दै छौं ।’

चालिसेले गलत अभ्यासका कारण लोकतन्त्रको संरचनामाथि नै प्रश्न उठाउने प्रवृत्ति बढिरहेको भन्दै यसले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।