काठमाडौं । नेपाली कांग्रेस ले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसे ले मंगलबार जारी विज्ञप्तिमा संसद् नचलाई अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक मूल्य, संसदीय परम्परा र संवैधानिक प्रक्रियासँग मेल नखाने बताएका छन्।
उनका अनुसार यो अभ्यास प्रक्रियागत कमजोरी मात्र नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको हस्तक्षेप हो।
कांग्रेसले यस्तो प्रवृत्तिले विधिको शासन कमजोर बनाउनुका साथै सरकारको संसद्प्रतिको विश्वास अभावलाई उजागर गर्ने उल्लेख गरेको छ। स्पष्ट बहुमत हुँदाहुँदै पटक–पटक अध्यादेशमार्फत शासन गर्न खोज्नु शक्ति केन्द्रीकरणतर्फको चिन्ताजनक संकेत भएको पनि विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा निर्णय प्रक्रियालाई सीमित घेरामा केन्द्रित गर्ने, विपक्षीको सहभागिता विना एकतर्फी निर्णय र नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र निष्पक्षतामा असर पर्ने खतरा औंल्याइएको छ।
कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति प्रतिबद्ध रहन आग्रह गर्दै संसद्को भूमिका र गरिमाको सम्मान गर्न तथा उक्त कदम पुनर्विचार गर्न माग गरेको छ।





















प्रतिक्रिया