Logo

राजनीति

उग्र वामपन्थले समाज रुपान्तरण गर्दैन: उपाध्यक्ष पौडेल



काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् । उनले माओवादीका नाममा देशले लामो समय उग्र वामपन्थको मार खेप्नु परेको बताएका छन् ।

२७औं यदु स्मृति दिवश तथा २४औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन् । २०५६ सालको आम निर्वाचनमा एमालेको तर्फबाट रुकुममा उम्मेद्वार रहेका गौतमले तत्कालिन माओवादीहरुले हत्या गरेका थिए ।

माओवादीको उपादेयता सकिएर नै अहिले आफ्नो पार्टीको नामबाट प्रचण्डले माओवादी भन्ने फुर्को झिकेको पौडेलले बताए । ‘माओवादीले जबसम्म हत्याको बाटो लियो,हिंसाको बाटो लियो । जनयुद्धका नाममा सत्ता कब्जाको अभ्यास गर्यो असफल भयो’ पौडेलले भने ‘त्यसपछि एमाले र काँग्रेससँग मिलेर जनआन्दोलनमा सहभागी भएको हो ।’

०६४ को संविधानसभामा माओवादीलाई असाधरण तरिकाले जनताले मत दिए पनि त्यसलाई उसले उपयोग गर्न नसकेको पौडेलको भनाइ छ ।

‘असाधरण मत आउदा पनि माओवादीमा कब्जाको धङधङी गएन’ उनले भने ‘सरकारमा गएपछि पनि राज्य कब्जा गर्ने,सेना कब्जा गर्ने, सेनापती बर्खास्ती गर्ने र नयाँ सेनापति ल्याउने उनीहरुको चाहना अझ बढ्यो । माओवादीको आकांक्षा त पुरा खालको थिएन तर यसकै कारणले देशले लामो समय दुख पायो । ’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।