काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासी हटाउने सन्दर्भमा स्थानीय तहहरूको आलोचना गरेका छन् । स्थानीय तहहरूले रास्वपाको काँधमा बन्दूक राखेर हानेको उनको आरोप छ ।
आज पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘अहिले सरकारले अव्यवस्थित र असुरक्षित बस्तीहरूको व्यवस्थापन गर्न खोजेको हो । तर, यही बेलामा देशभरिका विभिन्न स्थानीय निकायले रास्वपाको काँधमा बन्दुक राखेर अव्यवस्थित बसोबासीलाई ‘देख्यौँ तिमीहरूले ?’ भन्ने काम गरिरहनुभएको छ, त्यसमा हाम्रो घोर आपत्ति छ । अव्यवस्थित मात्र होइन, असुरक्षित बसोबासीलाई सुरक्षित स्थानमा राख्न कदम चालेको हो ।’
लालपूर्जा नभएका भूमिहीन सुकुम्वासीका हकमा शक्तिशाली प्राधिकरण बनाएर त्यसको निर्णय कार्यान्वयन हुने उनले बताए।
‘असुरक्षित स्थानमा बसेकालाई स्थानान्तरण गर्ने केन्द्र सरकारको निर्णय हो । यसको आडमा ‘देख्यौ तिमीहरूलाई उठायो’ भनेर अन्य कामहरू स्थानीय तहले गरेका छन् । कतिपयले बाटोको बिस्तार गर्ने गरिरहेका छन् ।
त्यसको आफ्नै मापदण्ड र कार्यविधि हुन्छन् । सरकारले असुरक्षित बसोबासीलाई मात्र हटाउन खोजेको हो अहिले । तर आजै, भोलि नै उठाउँछ भनेर आतंकित पारेका छन् । केन्द्र सरकारले त्यो काम गरेको छैन । तपाईँको भविष्य सुनिश्चित गर्ने केन्द्र सरकारको निर्णय हो ।’ लामिछानेले भने।





















प्रतिक्रिया