काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइनेछ ।
सभामुख अर्यालले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने तथा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी गरिएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो २ बजे बस्नेछ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।





















प्रतिक्रिया