काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताएका छन्।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागि लचिलो हुन तयार रहेको बताएका हुन्। उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताए।
महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रीय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उनले सबै नेताहरूसँग मिलेर काम गर्न चाहेको बताए।
उनले पार्टीमा विशेष महाधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरी सबैलाई समान अवसर दिने प्रस्ताव गरेको बताए।
उनले पार्टीको विवाद समाधान गर्नको लागि पटकपटक छलफल गरिरहेको भए पनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टि जनाए।
देशभरका कांग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले अध्यावधिक नगर्न उक्साइरहेको उनको भनाइ छ।
उनले भने, ‘कांग्रेसको देशभर भएका सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा फिजिकल रुपमा वडा कार्यलय गएर म नेपाली कांग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनेर भन्दिनुस् भनेर भन्दै गर्दा पनि ल त भन्लास् त! कांग्रेसको सदस्य हुँ भन्लास त? कांग्रेस सकाउने? भनेर नेताहरुको अभिव्यक्ति सुनिरहेको छु। अध्यावधिक नगर्नको लागि भनेर आह्वान गर्ने लहर चलेको छ, यहाँ। के भनेको अध्यावधिक नगर्ने भनेको?’
उनले सबै नेताहरूलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे। पार्टी एकताबद्ध राख्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।





















प्रतिक्रिया