Logo

राजनीति

वाग्लेको नयाँ आर्थिक दृष्टिकोण-सुशासन, पूर्वाधार र डिजिटल नेपाल



काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्।

काठमाडौँमा सोमबार आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब मुलुकलाई त्यसबाट मुक्त गराइने दाबी गरे।

सुशासन प्रवर्द्धनका लागि संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन र सूचना प्रविधिको व्यापक प्रयोग गरिने उनले जानकारी दिए।

नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेकाले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।

स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारले लिएको उनले स्पष्ट पारे।

युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्न सकिने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा पनि जोड दिइने उल्लेख गरे।

भौतिक पूर्वाधार विस्तारमा सरकारको पुँजीगत खर्च मात्र पर्याप्त नहुने भन्दै उनले निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको बताए।

विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सञ्जाललाई लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको माध्यमका रूपमा उपयोग गरिने समेत उनले बताए। आगामी बजेट सुधारवादी रूपमा आउने पनि उनले स्पष्ट पारे।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १८:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।