Logo

राजनीति

पोखरा बासपार्कका सुकुम्बासीलाई अन्यत्र सारिने, जग्गा खोज्न समिति गठन



गण्डकी। पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी गर्न समिति गठन गरिएको छ।

पोखरा महानगरपालिकाले सुकुम्बासी र भूमिहीन परिवारको व्यवस्थापनका लागि जग्गा पहिचान तथा सिफारिस गर्न वड़ा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको हो।

समितिको सदस्यमा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, महानगरको नापी शाखाका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाईँ रहेका छन्।

१० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

महानगरले मङ्गलबार नै पोखरा बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका तथा पछिल्लोपटक अध्यावधिक विवरण÷लगत बुझाएका पाँच सय ७२ सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानका लागि अर्को समिति गठन गरेको छ।

महानगरपालिका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित सात सदस्यीय उक्त समितिमा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अधिकृत, जिल्ला प्रशासन कार्यालय, कास्कीका अधिकृत, भूमि प्रशासन कार्यालय, कास्कीका अधिकृत, नापी कार्यालय, कास्कीका अधिकृत, जिल्ला प्रहरी कार्यालय, कास्कीका अधिकृत प्रतिनिधि र वडा नं. ९ का वडा सचिव समितिको सदस्यसचिव रहेका छन्।

उक्त समितिले १० कार्यदिनभित्र ‘सुकुम्बासी समस्या सहजीकरण समिति’सँग आवश्यक समन्वय र सहकार्य गरी तथ्यगत अध्ययनका आधारमा महानगरपालिकालाई प्रतिवेदन पेस गर्नेछ। महानगरले बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको छ।

२०३२ मा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म व्यवस्थित बसपार्क बन्न सकेको छैन।–रासस

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ०८:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।