काठमाडौं। दुई तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो बजेट आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्।
रास्वपाले फागुन २१ को निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेसँगै चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक आगामी आर्थिक २०८३/८४ को बजेट प्रस्तुत गरिन लागेको हो।
निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउनेछ।
संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, रास्वपाले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ।
आज अपराह्न ४ बजे गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको बताइएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको थियो। सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ।
यद्यपि अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको जोडबलपछि सिलिङभन्दा माथि पुगेर २२ देखि २५ खर्बभित्रको बजेट ल्याउने चर्चा चलेको छ।
चालू आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको थियो। गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए।




















प्रतिक्रिया