Logo

अर्थ

भुक्तानी प्रदायकमाथि राष्ट्र बैंकको कडाइ



काठमाडाैं । भुक्तानीसम्बन्धी कामका लागि लाइसेन्स प्राप्त कम्पनीहरूमा पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद गर्दा खरिदकर्ताको आपराधिक पृष्ठभूमि खुलाउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो ।

निर्देशनमा संस्थाको सञ्चालन, व्यवस्थापन वा काम–कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा खुलाउनुपर्ने भनिएको छ ।

चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा र पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा विवरण खुलाउनुपर्ने भएको हो ।

राष्ट्र बैंकले सम्बन्धित व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीसम्बन्धी जानकारी, कानुनी मापदण्ड पालना गरेको स्वघोषणा, नेपाल वा विदेशमा कुनै आपराधिक कसुरमा संलग्न भए–नभएको विवरण तथा त्यसको वर्तमान अवस्थासमेत खुलाउनुपर्ने व्यवस्था गरेको छ।

त्यसैगरी कुनै मुद्दा, अनुसन्धान, वैकल्पिक विवाद समाधान प्रक्रिया, न्यायिक वा प्रशासनिक कारबाहीमा संलग्न रहेको भए त्यसको जानकारी दिनुपर्नेछ। अदालत वा अन्य अधिकारप्राप्त निकायको आदेशबमोजिम तिर्नुपर्ने राजस्व तथा सरकारी बक्यौता रहेको वा नरहेको विवरणसमेत अनिवार्य गरिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १२:१४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।