काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
तारकेश्वर नगरपालिका-९, मनमैजु बस्ने महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।
महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो । साथै, उनको कोठाबाट लागुऔषध ‘Tramadol-50’ लेखिएको १५० क्याप्सुल समेत फेला पारेको प्रहरीले बतायो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानका क्रममा हात्तीको थप व्यक्तिको पनि संलग्नता पाइएपछि अन्यलाई पनि पक्राउ गरिएको एसपी शरतकुमार क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।




















प्रतिक्रिया