Logo

प्रमुख समाचार

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले वैधानिकता गुमाइसकेको धवलशमशेर राणाको दाबी, नयाँ शक्ति निर्माणमा जुट्न आह्वान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अपिल गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नेतृत्वको अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण पार्टी अहिलेको गम्भीर अवस्थामा आइपुगेको समेत बताएका छन् ।

डा.राणाका अनुसार राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल गत मङ्सिरमै समाप्त भएको थियो । त्यसपछि एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले निर्वाचन ढिला भए मङ्सिरमा र चाँडो भए जेठ महिनाभित्रै महाधिवेशन गर्न सुझाव दिएको थियो । सोही अनुसार केन्द्रीय समितिले ६ महिना म्याद थप गरे पनि सो अवधि हिजो जेठ १९ गते पूरा भएको राणाको जिकिर छ।

राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीका कारण पार्टीले आफ्नो साख गुमाउँदै गएको आरोप लगाएका छन् । ‘अधिवेशनको तालिका तयार पार्ने जिम्मा मलाई दिइएको र म जिम्मेवारीबाट पन्छिएको भन्ने अध्यक्षको अभिव्यक्ति हास्यास्पद र दुष्प्रचारपूर्ण छ,’ राणाले भने, ‘आफ्नो कमजोरी अरूको थाप्लोमा हालेर चोखो बन्ने गैरजिम्मेवारीपूर्ण शैलीले पार्टीको वैचारिक मूल्य–मान्यता धरापमा परेको छ।’

राणाले नेतृत्वको अकर्मण्यताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छोडिरहेको र विश्वासको सङ्कट चुलिएको जिकिर गरेका छन्।

अध्यक्षद्वारा जारी गरिएको विज्ञप्तिलाई ‘भ्रमपूर्ण शब्दजाल’ को संज्ञा दिँदै डा. राणाले सम्पूर्ण राष्ट्रवादी शक्ति, समूह, अभियान र व्यक्तिहरूलाई आपसी मेल र एकताका साथ ‘नयाँ राष्ट्रवादी शक्ति निर्माण’ को अभियानमा जुट्न हार्दिक अपिल गरेका छन् । निःस्वार्थ भावले एउटा प्रजातान्त्रिक र लक्ष्यमा पुग्ने बाटो निर्माण गर्न उनको आह्वान छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १६:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।