Logo

शेयर बजार

आईपीओ तयारीमा रहेको होटल सब्रिना वित्तीय जोखिममा : बार्षिक आम्दानी ७ करोड, ऋण सवा १ अर्बमाथि



काठमाडौं । बूढानीलकण्ठस्थित होटल सब्रिनाले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ।

पाँचतारे स्तरमा स्तरोन्नति भइरहेको होटलले विस्तार योजनाका लागि थप पुँजी जुटाउन र ऋण व्यवस्थापनलाई सन्तुलित बनाउन आईपीओ जारी गर्ने तयारी गरेको हो।

तर होटलको आम्दानीको तुलनामा ऋणको भार उच्च देखिएपछि यसको वित्तीय अवस्थामा जोखिम रहेको मूल्यांकन गरिएको छ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले होटलले उपयोग गर्ने १ अर्ब २५ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधा तथा संस्थागत साखलाई ‘बी प्लस’ रेटिङ दिएको छ। उक्त रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

सन् २०१८ मा स्थापना भएको होटल सब्रिना सन् २०२४ जुन ९ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। हाल ४८ कोठाबाट सञ्चालन भइरहेको होटललाई अन्तर्राष्ट्रिय होटल चेन एकोर्न होटल्सको ‘ट्राइब’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने तयारी भइरहेको छ। स्तरोन्नतिपछि होटलमा १०३ कोठा रहनेछन्।

विस्तार योजनासँगै होटलले ठूलो पुँजीगत लगानी गरिरहेको छ। यही परियोजनाका लागि थप स्वपुँजी जुटाउन र पुँजी संरचनालाई सन्तुलित बनाउन कम्पनी आईपीओमार्फत बजारमा जाने तयारीमा रहेको जनाएको छ।

होटलको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल कारोबार ७ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कारोबार ६ करोड ५० लाख रुपैयाँ थियो भने त्यसअघिको वर्ष ८ करोड रुपैयाँ पुगेको थियो। कारोबार बढ्न नसक्दा होटलको नाफा क्षमतामा दबाब परेको देखिन्छ।

पछिल्ला चार आर्थिक वर्षमध्ये तीन वर्ष होटलले खुद नोक्सानी बेहोरेको छ। सञ्चालन नाफा सन् २०२३ मा ३ करोड ६० लाख रुपैयाँ रहेकोमा सन् २०२५ मा घटेर १ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

उता बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ब्याज खर्च भने ४ करोड २० लाख रुपैयाँ पुगेको छ। होटलको आम्दानीले ब्याज खर्चसमेत धान्न नसक्ने अवस्था देखिएको छ। यसको ब्याज कभरेज अनुपात ०.३६ गुणा मात्रै रहेको छ, जुन ऋणदाता संस्थाका दृष्टिले कमजोर सूचक मानिन्छ।

हाल कम्पनीको ऋण–पुँजी अनुपात १.११ गुणा रहेको छ। होटलले १ अर्ब २५ करोड रुपैयाँसम्म ऋण सुविधा उपयोग गरिरहेको छ। यसमध्ये ६२ करोड २८ लाख रुपैयाँ दीर्घकालीन तथा ६२ करोड ७२ लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ।

होटलका प्रवर्द्धकहरू आतिथ्य, बैंकिङ, घरजग्गा तथा शिक्षा क्षेत्रमा अनुभव प्राप्त व्यवसायीहरू रहेको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धता र अनुभवी व्यवस्थापनलाई कम्पनीको सबल पक्षका रूपमा हेरिएको छ।

प्रवर्द्धकहरूका अनुसार पाँचतारे स्तरमा स्तरोन्नति सम्पन्न भएपछि तथा विदेशी पर्यटकको आगमन बढ्दै जाँदा आम्दानीमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

तर काठमाडौंमा बढ्दो होटल प्रतिस्पर्धा, उच्च ब्याजदर र निर्माण कार्यमा सम्भावित ढिलाइले कम्पनीको वित्तीय व्यवस्थापनमा चुनौती थप्न सक्ने केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार २१:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।