Logo

राजनीति

हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग



काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाले पार्टी परित्याग गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै राईले आफू र आफ्नो समूहले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन्। धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।

राईले हर्क साम्पाङलाई कठिन परिस्थितिमा साथ दिएको, स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने तयारी गरिरहेका बेला पार्टीमा प्रवेश गरी मेयर पदको उम्मेदवार बन्ने सहमति भएको दाबी गरे। तर पछि अर्कै व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।

केही दिनअघि हर्क साम्पाङले धरान–४ का निवर्तमान वडाध्यक्ष धनबहादुर राईलाई सामाजिक सञ्जालमार्फत मेयर पदको उम्मेदवार बनाउने घोषणा गरेका थिए। साम्पाङले निनाचन्द्र राईलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएर मन्त्री बनाउने आश्वासन दिएको पनि राईले बताएका छन्।

धनबहादुर राई केही समयअघि नेकपा (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

निनाचन्द्र राई समूहले आगामी स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरसहित धरानका २० वटै वडामा स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेको जनाएको छ। हर्क साम्पाङसँगको संवादपछि आफू श्रम संस्कृति पार्टीमा आबद्ध भई श्रम अभियानमा सक्रिय रूपमा सहभागी भएको राईले बताए।

“मलाई प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाउने भनिएको थियो। मैले मेयरबाहेक अन्य पदमा उम्मेदवार नबन्ने अडान राखेको थिएँ।

धनबहादुर राई पार्टीमा आएपछि पनि मैले के गर्ने भनेर सोध्दा तत्काल मेयर नबन्ने भनिएको थियो। तर अहिले आएर हामीमाथि राजनीतिक धोका भएको महसुस गरेका छौं,” राईले भने।

हर्क साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। त्यसयता उनले श्रम अभियानलाई राजनीतिक रूप दिँदै श्रम संस्कृति पार्टी गठन गरेका हुन्।

राईले पार्टी नेतृत्वले सहमति र प्रतिबद्धताविपरीत निर्णय गरेकाले नैतिक रूपमा पार्टीमा बसिरहन नसक्ने अवस्था सिर्जना भएको बताए। उनले आगामी निर्वाचनमा स्वतन्त्र रूपमा सहभागी हुने र धरानका सबै वडामा उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए।

निनाचन्द्र राई र हर्क साम्पाङबीचको सम्बन्ध धरानको धनकुटे रोड विस्तारविरुद्धको आन्दोलनबाट सुरु भएको थियो।

धनकुटे रोड क्षेत्रमा पर्ने घर तथा संरचना सडक विस्तारबाट प्रभावित हुने भएपछि दुवैले धनकुटे रोड संघर्ष समिति गठन गरी संयुक्त आन्दोलन चलाएका थिए। त्यही आन्दोलनबाट उनीहरूबीच निकट सम्बन्ध स्थापित भएको थियो।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार २१:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।