Logo

अटो

भिन ग्रुपको ‘ग्रीन एसएम’ ट्याक्सी सेवा जुन ५ देखि भारतमा, दिल्लीबाट सुरु हुँदै



काठमाडौैं ।  भियतनामको विद्युतीय ट्याक्सी सेवा कम्पनी ग्रीन एसएमले भारतमा जुन ५ देखि सेवा सञ्चालन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा दिल्ली–एनसीआर क्षेत्रमा सेवा सुरु गर्ने र क्रमशः अन्य प्रमुख भारतीय सहरमा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

भियतनामको ठूलो निजी व्यावसायिक समूह भिनग्रुपको समर्थन रहेको ग्रीन एसएमका संस्थापक अर्बपति फाम न्हाट भुओङ हुन्। उनी विद्युतीय सवारी निर्माता भिनफास्टका पनि संस्थापक हुन्। ग्रीन एसएमले हाल भियतनाम, मलेसिया र फिलिपिन्समा एपमार्फत ट्याक्सी सेवा सञ्चालन गर्दै आएको छ।

भारत प्रवेशसँगै कम्पनीले उबर र ओलाजस्ता स्थापित राइड–हेलिङ कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ। तर ग्रीन एसएमको व्यवसायिक मोडल प्रतिस्पर्धी कम्पनीभन्दा फरक रहेको बताइएको छ।

उबर र ओलाले विभिन्न ब्रान्डका सवारी प्रयोग गर्ने भए पनि ग्रीन एसएमले आफ्नै समूहअन्तर्गत उत्पादन भएका भिनफास्टका विद्युतीय सवारी मात्रै सञ्चालनमा ल्याउनेछ।

कम्पनीले भारतमा मुख्य रूपमा ‘लिमो ग्रीन’ नामक विद्युतीय बहुउद्देश्यीय सवारी प्रयोग गर्ने तयारी गरेको छ। यो मोडल भिनफास्टको ‘भीएफ एमपिभी ७’ मा आधारित फ्लीट संस्करण हो।

यसमा ६०.१३ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्म यात्रा गर्न सक्ने भारतीय परीक्षण निकायले प्रमाणित गरेको कम्पनीको दाबी छ।

लिमो ग्रीनमा जडान गरिएको अगाडिको विद्युतीय मोटरले २०४ अश्वशक्ति र २८० न्युटन–मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार व्यावसायिक प्रयोजनका लागि तयार गरिएको यो संस्करणमा सामान्य मोडलभन्दा फरक लोगो र ब्रान्डिङ प्रयोग गरिएको छ। सञ्चालन लागत घटाउन केही विलासी सुविधा पनि हटाइएको जनाइएको छ।

हालै भारतमा परीक्षणका क्रममा देखिएको लिमो ग्रीन साइन रङमा सजिएको थियो। उक्त सवारीमा सात सिट, कालो भित्री सजावट तथा व्यावसायिक प्रयोगलाई लक्षित विशेषता समावेश गरिएको देखिएको थियो।

ग्रीन एसएमले लिमो ग्रीनसँगै ‘भीएफ ५’ विद्युतीय ह्याचब्याकलाई पनि आफ्नो ट्याक्सी फ्लीटमा समावेश गर्न सक्ने संकेत दिएको छ। उक्त मोडललाई भारतमा व्यक्तिगत प्रयोगका लागि समेत सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

विश्लेषकहरूले ग्रीन एसएमको भारत प्रवेशलाई विद्युतीय ट्याक्सी सेवाको क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।

भारतमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला भिनफास्टले आफ्नै सवारीमार्फत ट्याक्सी सेवा सञ्चालन गर्न लागेकाले यसले राइड–हेलिङ बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

साथै, यस कदमले भारतीय विद्युतीय सवारी बजारमा भिनफास्टको उपस्थिति थप मजबुत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार १९:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।