Logo

प्रमुख समाचार

फिलिपिन्समा गएको विनाशकारी भूकम्प र राहत कार्यका लागि सरकारको ध्यानाकर्षण।



काठमाडौँ ।हालसालै फिलिपिन्समा गएको शक्तिशाली र विनाशकारी भूकम्पका कारण ठुलो संख्यामा मानवीय क्षति भएको र अर्बौँको भौतिक पूर्वाधार नष्ट भएको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ।

प्रकृतिले दिएको यो ठुलो विपत्तिको घडीमा म सम्पूर्ण फिलिपिनी जनता र पीडित परिवारजनप्रति हार्दिक सहानुभूति प्रकट गर्दछु। हामी नेपाली आफैँ पनि वि.सं. २०७२ को महाभूकम्प र भर्खरैका पराकम्पहरूको गहिरो पीडा र छटपटी भोगेर आएका नागरिक हौँ।

त्यसैले यस्तो प्राकृतिक विपत्तिमा पर्दा एउटा राष्ट्र र त्यहाँका नागरिकलाई कस्तो मर्माहत चोट पुग्छ भन्ने कुरा हामीले राम्रोसँग महसुस गर्न सक्छौँ।

यस दुःखद घडीमा म आफ्नो व्यक्तिगत तथा समग्र लोकतन्त्रवादी नेपाली नागरिकका तर्फबाट नेपाल सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु:

१. यस महाविपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।

२. संकटको यो बेला भूगोल र राजनीतिको दायराभन्दा माथि उठेर मानवीयता देखाउने समय हो।नेपाल सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म औषधि, राहत सामग्री र प्राथमिक उपचारका सामानहरू संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी मार्फत तत्कालै भूकम्प प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरोस्।

३. रोजगारी, अध्ययन वा अन्य सिलसिलामा फिलिपिन्स र त्यसको आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूको स्थितिबारे तत्काल लगत संकलन गरियोस्।

हाम्रा कूटनीतिक नियोगहरूलाई उच्च सतर्कतामा राखेर त्यहाँ रहेका नेपालीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्न र आवश्यक परेमा तत्काल सुरक्षित उद्धारको वातावरण मिलाउन म सरकारसँग जोडदार माग गर्दछु।

मानवीय संकटमा एकले अर्कालाई सघाउनु नै विश्व बन्धुत्वको भावना हो। यो महाविपत्तिसँग जुध्न र यसको पीडा सहन फिलिपिनी जनतालाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १८:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।