Logo

राजनीति

दरबार हत्याकाण्डको फाइल खुल्ने भएपछि ज्ञानेन्द्र शाहीले ताने राष्ट्रपतिको नाम



काठमाडौं। गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

हत्याकाण्ड भएको समयमा पौडेल नै देशको गृहमन्त्री रहेको उल्लेख गर्दै शाहीले उनीमाथि छानबिन हुनुपर्ने अडान राखेका हुन्।

मंगलबार सामाजिक सञ्जालमार्फत नवनियुक्त गृहमन्त्रीको निर्णयको स्वागत गर्दै शाहीले २०५८ सालको सो विभत्स घटनाको सत्यतथ्य उजागर गर्न तत्कालीन जिम्मेवार पदाधिकारीहरूको बयान अनिवार्य रहेको बताए।

उनले घटनाका बेला गृह प्रशासनको कमान्ड सम्हालिरहेका पौडेललाई नसोधी गरिने अनुसन्धान अपूर्ण हुने दाबी गरे।

‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु,’ शाहीले लेखेका छन्, ‘तर सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ।’

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका थिए।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार २१:२२   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।