Logo

प्रमुख समाचार

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ



काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु भएको छ।

सभाको आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले बजेटका सिद्धान्त र प्राथमिकतामाथि मात्रै सामान्य छलफल हुने तथा मन्त्रालयगत कार्यक्रम र योजनामाथि विनियोजन विधेयकका क्रममा विस्तृत छलफल गरिने जानकारी दिए। उनले सामान्य छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको बताए।

सांसदहरूले बजेटमाथि आफ्नो धारणा राखिरहेका छन्। छलफलमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई जानकारी गराए।

त्यसैगरी, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा गरिएको सदस्य हेरफेरबारे सभामुखले जानकारी गराएका थिए। उक्त हेरफेरलाई सभाले अनुमोदन गरेको छ।

सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानले तोकेको अवधिभित्र फिर्ता नआएको जानकारीसमेत सदनलाई गराएका थिए।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १८:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।