Logo

Sports

विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी



काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ ।

४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ ।

लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र लामिन यामालजस्ता सुपरस्टारको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाएको छ । तर यसपटक पनि विश्व फुटबलका केही चर्चित अनुहार भने विश्वकपको रंगमञ्चमा देखिने छैनन् ।

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीको अन्तिम सूचीमा स्थान बनाउन नसकेका वा आफ्नो देश नै छनोट हुन नसकेका कारण धेरै स्टार खेलाडी विश्वकपबाट बाहिरिएका छन् । यसले फुटबल समर्थकलाई केही निराश बनाएको छ ।

यस पटकको विश्वकपमा मिस हुने सबैभन्दा चर्चित नाममध्ये एक हुन् इटालीका गोलकिपर जियानलुइजी डोनोरुम्मा । युरोपक २०२१ मा इटालीलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका डोनोरुम्माले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन् ।

इटाली लगातार तेस्रो संस्करणका लागि विश्वकपमा छनोट हुन असफल भएपछि २७ वर्षीय गोलकिपर डानोरुम्माको विश्वकप सपना फेरि अधुरै रहेको हो ।

नेदरल्यान्ड्सका राइटब्याक जेरेमी फ्रिमपोङ पनि अन्तिम टोलीमा अटाउन सकेनन् । जाबी अलोन्सोको नेतृत्वमा बायर लेभरकुसेनको ऐतिहासिक सफलताका मुख्य पात्र रहेका फ्रिमपोङले लिभरपुलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

यही कारण प्रशिक्षक रोनाल्ड कोमानले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । स्पेनका युवा सेन्टरब्याक डीन होइसन र लेफ्टब्याक आल्भारो क्यारेरास पनि विश्वकप टोलीमा स्थान बनाउन असफल भएका छन् ।

रियल मड्रिडका यी दुई खेलाडीले सिजनभर राम्रो प्रदर्शन गरे पनि स्पेनका प्रशिक्षक लुइस डे ला फुयन्टेले अनुभवलाई प्राथमिकता दिँदै अन्य विकल्प रोजे ।

इङ्ल्यान्डका अनुभवी सेन्टरब्याक ह्यारी मग्वायर पनि यसपटक टोलीबाहिर छन् । ६६ अन्तर्राष्ट्रिय खेल खेलेका मग्वायरले आफ्नो तेस्रो विश्वकप खेल्ने आशा गरेका थिए ।

तर प्रशिक्षक थोमस टुचेलले नयाँ पुस्ताका डिफेन्डरलाई अवसर दिएपछि मग्वायरको विश्वकप सपना पूरा हुन सकेन । मिडफिल्डमा फ्रान्सका एड्वार्डो कामाभिंगाको अनुपस्थिति पनि चर्चाको विषय बनेको छ ।

इन्जुरीका कारण उनले सिजनभर निरन्तर खेल्न नसकेपछि प्रशिक्षक डिडियर डेस्च्याम्पले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । त्यस्तै, पोर्चुगलका युवा मिडफिल्डर म्याटियस फर्नान्डेज पनि उत्कृष्ट क्लब प्रदर्शनका बाबजुद विश्वकप टोलीमा अटाउन सकेनन् ।

आक्रमणतर्फ इङ्ल्यान्डका कोल पाल्मर र फिल फोडेन बाहिरिनु धेरै समर्थकका लागि अप्रत्याशित रह्यो । पछिल्ला दुई सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाडीलाई प्रशिक्षक टुचेलले अन्तिम टोलीमा समावेश नगरेपछि यसको व्यापक चर्चा भइरहेको छ ।

ब्राजिलका फरवार्ड जाओ पेड्रो पनि टोलीबाट बाहिरिएका छन् । चेल्सीबाट उत्कृष्ट सिजन बिताएका पेड्रोले ३२ गोलमा योगदान दिए पनि प्रशिक्षक कार्लो एन्सेलोटीले अन्य युवा खेलाडीलाई प्राथमिकता दिए। उनीसँगै गाब्रियल जेसुस र रिचार्लिसन पनि विश्वकप टोलीमा पर्न सकेनन् ।

जर्मनीका स्ट्राइकर करिम अडेमी पनि यसपटक विश्वकपमा देखिने छैनन् । बोरुसिया डर्टमन्डका प्रमुख आक्रमणकारीमध्ये एक मानिने अडेमीले पछिल्लो समय इन्जुरी र फिटनेस समस्याका कारण निरन्तर खेल्न नसक्दा राष्ट्रिय टोलीमा स्थान गुमाएका हुन् ।

यसबाहेक, पेरिस सेन्ट जर्मेनका जर्जियन विंगर क्भिचा क्वारात्स्खेलिया पनि विश्वकपबाट बाहिर छन् । जर्जिया समूह चरणबाट छनोट हुन नसक्दा बालोन डी’ओर प्रत्याशी मानिएका उनी उत्तर अमेरिकाको विश्वकपमा देखिने छैनन् ।

त्यस्तै, इटाली छनोट हुन नसकेपछि निको बारेला जस्ता उत्कृष्ट मिडफिल्डर पनि प्रतियोगिताबाट टाढा भएका छन् ।

विश्वकप २०२६ मा नयाँ पुस्ताका खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाए पनि यी चर्चित स्टारहरूको अनुपस्थितिले प्रतियोगिताको रोमाञ्चमा केही कमी महसुस गराउने निश्चित छ ।

फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १०:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।