काठमाडौं । बुद्ध एयरले आफ्नो हवाई बेडामा अर्को अत्याधुनिक एटीआर–७२–६०० सिरिजको विमान थपेको छ। फ्रान्सको तुलुसबाट ल्याइएको उक्त विमानले आवश्यक नियामकीय प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि व्यावसायिक उडान सुरु गर्ने कम्पनीले जनाएको छ।
बुद्ध एयरका अनुसार ‘९एन–एओएस’ कल साइन रहेको यो विमान नवीनतम प्रविधिसहितको एभियोनिक्स प्रणालीले सुसज्जित छ। यसमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।
कम्पनीले आयात गरेको यो एटीआर–७२–६०० मा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) एप्रोच प्रणाली जडान गरिएको छ। यस प्रणालीको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९ सय मिटर भिजिबिलिटी भएको अवस्थामा पनि सुरक्षित अवतरण गर्न सकिने बुद्ध एयरले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयनमा आएपछि करिब २ हजार मिटर भिजिबिलिटीमा पनि बुद्ध एयरको यो विमानले सुरक्षित रूपमा उडान र अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।
बुद्ध एयरका अनुसार नयाँ प्रविधिको प्रयोगले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध उल्लेख्य रूपमा घट्नेछ। यसबाट उडान सुरक्षामा थप मजबुती आउनुका साथै यात्रुले अझ भरपर्दो हवाई सेवा पाउने कम्पनीको विश्वास छ।
हाल प्रयोगमा रहेको ‘इन्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम’ (आईएलएस) प्रक्रियाअनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३ हजार १ सय मिटर तथा काठमाडौं र भैरहवाका लागि करिब १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने व्यवस्था छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर एटीआर–७२–६०० सिरिजकै अर्को विमान पनि भित्र्याउने तयारी गरेको जनाएको छ। त्यसपछि केही महिनाभित्र सोही सिरिजका थप दुई विमान ल्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ।
हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीले आन्तरिक उडान सेवा थप सुरक्षित, आधुनिक र विश्वसनीय बनाउने लक्ष्य लिएको जनाएको छ।




















प्रतिक्रिया