मैथिली साहित्यका एक प्रखर चिन्तक, सशक्त समालोचक तथा विशिष्ट विद्वान डा.रेवतिरमण लाल अब भौतिकरुपमा यस धरामा छैनन् । डा.लालले हिजो राती अर्थात भदौ २० गते (२०२६ सेप्टेम्बर ५) ८४ वर्षको उमेरमा यस मत्र्यलोकबाट प्रस्थान गरे । केही दिनअघि उपचारार्थ जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना भएका डा.लालको मृत्युको समाचार हिजो राती करिव १० बजेतिर सार्वजनिक भएको थियो । पारिवारिक स्रोतका अनुसार भने डा.लालले अन्तिम स्वास त्यसअघि नै फेरेका थिए । पिताम्बरलाल कर्णको पुत्रका रुपमा उनको जन्म २ मार्च १९४३ मा जनकपुर नजिकैको डेवहिहाको खुरखुररियामा भएको थियो ।
अतुलनीय योगदान, अपूरणीय क्षति
मैथिली भाषा, साहित्य र संस्कृतिको उत्थान तथा अनुसन्धानमा निरन्तर सक्रिय रहेका डा.लालले यस क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । एक उत्कृष्ट सम्पादकको परिचय बनाएका डा. लाल विशेषगरी मैथिली समालोचना, समीक्षा र निबन्धका लागि चिनिन्छन् । प्रचारभन्दा टाढा रहेर भाषा साहित्यको अभिवृद्धिमा निरन्तर क्रियाशील रहँदै आएका डा.लालको दैहिक अवसानले मैथिली समाज र साहित्यलाई अपूरणीय क्षति पुगेको छ । युवा पत्रकार, समालोचक तथा साहित्यकार नित्यानन्द मण्डल, जो उनको अन्तिम अवस्था र त्यसपछिको सांसकारिक कार्यको साक्षी बने, भन्छन्–उनको योगदान अतुलनीय छ । उनको अवसानले पुर्याएको क्षतिको पुर्ति हुन सक्ने सम्भावना तत्काललाई देखिदैन । दुई मत हुन सक्दैन कि अपूरणीय क्षति पुगेको छ ।
पछिल्लो एक महिनामा नेपाली मैथिली साहित्यले निकै ठूलोठूलो वज्रपात सहनुपरेको छ । दुःख र शोकको निरन्तरतालाई आत्मसात गर्न बाध्य हुनुपरेको छ । यस एक महिनामा मैथिली साहित्यका चिरपरिचित स्थापित स्रष्टाहरु डा.राजेन्द्रप्रसाद विमल, उनका अनुज पूर्वन्यायधीश साहित्यकार उपेन्द्र लाभ कर्ण, भाषा अभियन्ता साहित्यकार ओमकुमार झा र अहिले डा.रेवतीरमण लाललाई मैथिल समाजले गुमाएको छ । भाषिक अभियन्ता साहित्यकार नित्यानन्द भावुक भावमा दुःख व्यक्त गर्दै भन्छन्– ‘कालको क्रुर पञ्जाले हामीबाट डा. रेवतिरमण सरलाई पनि खोसेर लग्यो । मलाई लाग्दछ, श्वर्गलोकमा डा.विमललाई शायद एक्लै राम्रो लागिरहेको थिएन । उनीसँगै उनका बालसखा, अनुज र परिचितहरु उहाँकै निवासतिर गएका छन् । डा.विमल जहाँ छन् त्यहाँ उनी साहित्यिक मण्डली सञ्चालन गर्न त चाहिरहेका छैनन ?’ मण्डल प्रश्न गर्छन् ।
परम्परागत रचनाभन्दा पृथक
मैथिली साहित्यलाई परम्परागत ढर्राबाट माथि उठाएर आधुनिक र वैज्ञानिक समालोचनात्मक पद्धतिसँग जोडने सन्दर्भमा डा. लालको भूमिका अतुलनीय मानिन्छ । जुनबेला मैथिली साहित्य कविता, गीत, कथा आदिको परम्परागत विधाबाट गाँजिएको थियो त्यसबेला डा.लालले मैथिलीमा फरकधार रोजे । उनले तुलनात्मक रुपमा कम लेखिने समालोचना, समीक्षा, निवन्ध, यात्रा लेखन, अन्तर्वार्ता आदिलाई आफ्नो मूल विधाका रुपमा स्थापित गर्ने प्रयत्न गरेका थिए । अर्का भाषिक अभियन्ता साहित्यकार प्रेम विदेह ललन (जनार्दन) भन्छन्–उनी आफ्नो उद्देश्यमा पूर्णतः सफल रहे । उनले मैथिली साहित्यमा सिञ्चित गरेका विधाहरु अहिले पुष्पित–पल्लवित भएका छन् । उनी भन्छन्–‘काव्य, नाटक र आधुनिक गद्यको गहिरो विश्लेषण गर्दै डा.लालले अनेकौं अनुसन्धानात्मक सामग्रीहरु सार्वजनिक गरेका छन् । उनले देखाएको बाटो हामी र पछिका पुस्ताले अनुरशण गर्नु उनीप्रति श्रद्धाञ्जलि हुनेछ’ललनको भनाई छ ।
लामो समयसम्म मैथिली साहित्यिक पत्रिका नैमिकानन्को प्रकाशन तथा सम्पादक रहेका डा.लाल स्पष्ट विचार, तटस्थ दृष्टिकोण र तर्कपूर्ण प्रस्तुतिका लागि परिचित छन् । मैथिली भाषाको व्याकरणीक शुद्धता र शब्द चयनमा उनको विशेष पकड रहेको उनलाई नजिकबाट चिन्नेहरुको मत छ ।
नेपाल राष्ट्र बैंकमा लामो समयसम्म (३२ वर्ष) व्यवसायिक पेशागत दायित्व निर्वाह गरेका डा लालले स्वतःस्फूर्तरुमा आजीवन मैथिलीको सेवा गरे । यसका लागि उनले कतै कुनै यश, लाभ, अवसर आदिको मोह राखेनन् । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार मैथिली भाषालाई समृद्ध बनाउन र यसको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पु¥याउन डा लालले आजीवन योगदान दिए । तर कहिल्यै कुनै लोभ राखेनन् । उनले भने–मैथिली साहित्यमा वहुविधाका धनी मानिने डा.लालले विभिन्न साहित्यिक गोष्ठी, शोधपत्र र पत्रपत्रिकाका माध्यमबाट पनि मैथिली क्षेत्रमा वैचारिक क्रान्ति ल्याउन मद्दत पु¥याए ।
सादा जीवन उच्च विचार
उनी सादा जीवन उच्च विचारका अनुयायी थिए । जीवनमा कहिल्यै कुनैपनि प्रकारको तडकभडकमा विश्वास गरेनन् र उनको जीवनको यो सादगीको प्रभाव उनको रचनामा पनि अनुभव गर्न सकिन्छ । सामान्यजस्तो देखिने उनको लेखनको शैली सरल भएपनि विचार भने अत्यन्तै गहन हुने गरेको पाउन सकिन्छ । विचार र दर्शनलाई सहजरूपमा प्रस्तुत गर्ने उनको खुबीका कारण उनका रचना विद्वतवर्गका साथै सर्वसाधारण पाठकका लागि पनि उत्तिकै सान्दर्भिक र पठनीय हुने गरेका छन् । प्रायः सरल शव्दमा अत्यन्त गम्भीर भाव पस्किन खप्पिस मानिने डा. लालको लेखन शैलीमा सांस्कृतिक गहिरोपना र लोक तत्वप्रतिको आदर झल्कन्छ । डा.लालले आफ्नो लेख÷रचनामा मिथिलाको ग्राम्य लोकजीवन, संस्कृति, पर्यटन आदिलाई जीवन्तरुपमा प्रस्तुत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट मैथिलीमा स्नातकोत्तर गरेर सन् १९९२मा उनले विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए । मैथिलीका महान साहित्यकार स्वप्नद्रष्टा डा. धीरेन्द्रको निर्देशनमा डा.लालले ‘मैथिली गल्पमा चित्रित अन्तर्वस्तुको अध्ययन’ विषयमा शोध सम्पन्न गरेका थिए । यो अनुसन्धान कृति पछि पुस्तकाकार कृतिका रुपमा पनि प्रकाशित छ ।
मैथिली अध्ययन र लेखनमा डा.धीरेन्द्रको वैचारिक ‘स्कूल’का एकजना सशक्त हस्ताक्षर डा. लालको साहित्यिक जीवनमा डा.धीरेन्द्रको निकै ठूलो प्रभाव रहेको स्वयं डा.लालले यस पंक्तिकारसँगको कुराकानीमा स्वीकार गरेका थिए । उनले भनेका थिए–डा धीरेन्द्रको पाठशालाको एक विद्यार्थी हुँ म पनि । मेरो भाषा अभियानमा डा.धीरेन्द्रको ठूलो प्रेरणा छ ।
डा.लालको मसँग पनि बडो निकट सम्बन्ध रहेको थियो । उनी मलाई निकै स्नेह गर्दथे । म उनको जीवन र लेखनबाट निकै बढी प्रभावित थिएँ । मैथिली साहित्य लेखनका सम्बन्धमा मैंले उनीबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । उनीसँगका मेरा थुप्रै स्मृति शेष छन् । यहाँ तिनको चर्चा गर्नु सम्भव हुँदैन र उचित पनि हुँदैन । राज्यले उचित मूल्यांकन नगरेको उचित सम्मान नगरेको गुनासो. भने उनको रह्यो । आफूभन्दा कनिष्ठले प्राप्त गरेको सम्मान र पहिचानबाट प्रशन्न हुने डा.लालले आफ्नालागि भने कहिल्यै कुनै लालसा राखेनन् । व्यक्त गरेनन् । म पत्रकार महासंघको अध्यक्ष रहँदा उनले एक पटक साहित्यिक पत्रिका नैमिकाननको वर्गीकरणबारे भने जिज्ञासा राखेका थिए । मैंले उनलाई चित्तबुझ्दो जवाफ दिन सकेको थिइन । पछि प्रज्ञा–प्रतिष्ठानमा यसबारे सामान्य छलफल भएका म सम्झन्छु । तर उनले अनेकौं बाधा व्यवधान र समस्या खेपेर भए पनि नैमिकाननलाई निरन्तरता दिँदै आएका थिए । त्रिभुवन विश्वविद्यालयका मैथिली विषयका प्राध्यापक श्याम शशि भन्छन–मैथिलीको यो मानक मानिने पत्रिकाको भविष्य अब के हुन्छ ? उनको अवसानपछि एउटा प्रश्न त उव्जिएको छ ।
साहित्य रचना र पुरस्कार सम्मान
साहित्यकार नित्यानन्दका अनुसार डा.लालको पहिलो कविता ‘सरस्वती वन्दना’ जनकविकेशरी धर्मराज थापाको पुस्तक ‘मेरो नेपाल भ्रमण’ (१९६० ई)मा प्रकाशित थियो भने पहिलो कथा ‘ममताक डोरी’ वैदेहीमे (१९६४ ई) प्रकाशित थियो ।
माथि चर्चा गरिएजस्तै उनले मैथिली साहित्यको परम्परागतसँगै केही अन्य फरक विधामा आफूलाई विस्तार गरेका थिए । प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित मैथिली गद्य संग्रहमा भनिएको छ–डा.लाल उच्चकोटीका कथाकार हुन तथा साक्षात्कार विषयमा त सर्वश्रेष्ठ नै भन्न सकिन्छ । साहित्यकार नित्यानन्दको भनाई छ–उनको भाषा, शैली अत्यधिक स्पष्ट र रोचक हुन्छ तथा निबन्धमा जुन विषयलाई स्पर्श गरे त्यो बडो प्रभावकारी हुने गरेको पाइन्छ ।
उनको प्रकाशित कृतिहरुमा भेटवार्ता साहित्य—साक्षात्कार (साक्षात्कार संग्रह), माधव नहि अएलाह मधुपुरसँ (कथा संग्रह), खिस्सा पिहानी (लोक कथा संग्रह), हमर विदेश भ्रमण (यात्रा साहित्य), काल प्रवाह (कविता संग्रह), नेपथ्य (नाटक) मिथिलाक सांस्कृतिक परम्परा, मैथिली लोक साहित्यक स्वरुप, मैथिली गल्पमे चित्रित अन्तर्वस्तुक अध्ययन (अनुसन्धान÷समालोचना) आदि मुख्य हुन । २०५९ सालदेखि वर्तमानसम्म नैमिकानन (साहित्यिक त्रैमासिक) पत्रिकाको प्रकाशक र प्रधान सम्पादकका रुपमा सक्रिय रहेका डा.लालले अस्मिता, अक्षर कलश, भूमिजा (सामायिक संकलन) पनि सम्पादन गरेका थिए ।
यस्तै डा.लालले मैथिलीका प्रसिद्ध व्यग्य रचनाकार प्रो.हरिमोहन झाको अमर कृति खट्टर कक्काक तरंगको पनि नेपाली अनुवाद गरेका थिए । यसका अतिरिक्त उनले महाकवि विद्यापतिको जीवनमा केन्द्रित सात खण्डको टेलिफिल्मको कथा÷पटकथा पनि लेखेका थिए ।
उनले महेन्द्र विद्याभुषण, पार्वतीस्मृति पुरस्कार, वैदेही प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय मैथिली परिषद् (भारत), जानकी कला परिषद् (जनकपुर), आकृति (जनकपुर) विद्यापति सेवा संस्थान, दरभंगा भारत)द्वारा सम्मानित हुने अवसर प्राप्त गरे । डा.लाललाई अन्तर्राष्ट्रिय मैथिली सम्मेलन, मुम्बई २००६ द्वारा ‘मिथिला रत्न’को उपाधि प्रदान गरिएको थियो ।
जनकपुरका पत्रकार वीरेन्द्र रमण डा.लाललाई एक निष्काम निर्लोभी तर समर्पित साहित्यसेवी मैथिली अभियन्ताका रुपमा चित्रित गर्छन । उनी भन्छन्– उनको अनुपस्थितिको पीड़ालाई शब्दमा व्यक्त गर्न कठिन छ ।
डा. रेवतीरमण लाल केवल एक लेखकमात्र नभई मैथिली साहित्यका मार्गदर्शन गर्ने एक धरोहर हुन्, जसको मौलिक सिर्जना र योगदानले मैथिली वाङ्मयलाई सँधै आलोकित गरिरहनेछ । उनको योगदानलाई स्मरण गरेर उनले देखाएको मार्गमा अग्रसर हुनु उनीप्रतिको श्रद्धाञ्जलि हुनेछ । सादर नमन रेवती सर ।
















प्रतिक्रिया