Logo

प्रमुख समाचार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै प्रशासनले यात्रा तयारीमा रहेका तथा पदमार्गमा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो ।

प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका– ४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको छ । बाढीले चुमनुब्री– ४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुल बगाएको जनाइएको छ ।

पुलहरू बगेपछि मनास्लु र लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको भन्दै प्रशासनले तत्काल पदयात्रा नगर्न र नगराउन आग्रह गरेको हो । पदमार्ग क्षेत्रमा कुनै विपत् वा असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

पुल पुनः सञ्चालनमा आएर पदमार्ग सुरक्षित भएको सम्बन्धमा प्रशासनले अर्को सूचना जारी गरेपछि मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १६:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।