Logo

अर्थ

भदौमा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात



काठमाडौं । नेपालले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार भदौमा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो ।

प्राधिकरणका अनुसार उक्त विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ । विद्युत् निर्यात भारतसँगको द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत गरिएको हो ।

द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात भएको छ । यसबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भएको छ । यसबाट १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

भदौमा कुल निर्यातको ठूलो हिस्सा द्विपक्षीय सम्झौतामार्फत भएको प्राधिकरणले जनाएको छ । भारतको हरियाणा र बिहार राज्यसँगको सम्झौताका साथै बंगलादेशतर्फ पनि विद्युत् निर्यात गरिएको थियो ।

यसैबीच, भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य जलविद्युत् आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार ०९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।