Logo

शेयर बजार

आजदेखि सेयर कारोबार नियमित सञ्चालन हुने, नेप्से डाटा हबको प्राविधिक समस्या समाधान



काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि मंगलबारदेखि सेयर कारोबार पुनः सञ्चालन हुने भएको छ।

डाटा हब प्रालिमा सोमबार बिहानैदेखि प्राविधिक समस्या देखिएपछि नियमित सेयर कारोबार प्रभावित भएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि पूर्ण रूपमा समाधान नभएपछि कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएको थियो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा क्षति पुग्न सक्ने जोखिम औंल्याउँदै कारोबार स्थगित गर्न आग्रह गरेको थियो। त्यसपछि नेप्सेले सोमबारको नियमित कारोबार स्थगित गरेको थियो।

कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको थियो।

डाटा हबको प्राविधिक समस्या समाधान भएसँगै मंगलबारदेखि सेयर कारोबार नियमित रूपमा सञ्चालन हुने नेप्सेले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार ०९:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।