Logo

राजनीति

नेपाली कम्युनिस्ट पार्टीले दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठकले संगठन निर्माण, पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता वितरण तथा नवीकरणलाई जोड दिँदै राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले अभियान केन्द्रदेखि वडा, टोल हुँदै जनताको घरदैलोसम्म सञ्चालन गरिने बताए ।

ज्वालाले भने, ‘हामीले यो बैठकबाट पार्टीले अब संगठन निर्माण, पार्टीका बाँकी पार्टी र जनवर्गीय संगठनका बाँकी कामहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरण अभियान समेतलाई जोडेर एउटा राष्ट्रिय अभियान, एउटा जनअभियान सञ्चालन गर्ने, दुई महिने जनअभियान सञ्चालन गर्ने—असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने एउटा महत्त्वपूर्ण निर्णय गरेका छौँ। त्यो अभियान हामीले केन्द्रदेखि गाउँ–गाउँ, टोल–टोल र जनताको घरदैलोसम्म डोर–टु–डोर हामी पुगेर यो अभियान सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ।’

उनका अनुसार अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकले पारित गर्नेछ ।

बैठकले विचार, सिद्धान्त र कार्यक्रम मिल्ने कम्युनिस्ट तथा वामपन्थी दलहरूसँग वार्ता र पार्टी एकताको प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । देव गुरुङको संयोजकत्वमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो ।

‘त्यो वार्ता समितिले भोलिदेखि नै विभिन्न कम्युनिस्ट पार्टीहरू, वामपन्थी पार्टीहरूसँग वार्ताको प्रक्रिया अगाडि बढाउँछ र यो सबै कुरामा सहमति हुने दलहरूसँग पार्टी एकताका कामहरूलाई पनि हामी अगाडि बढाउँछौँ,’ ज्वालाले भने ।

उनले एमालेसहित विभिन्न वामपन्थी तथा कम्युनिस्ट दलहरूसँग छलफल र वार्ता अगाडि बढाउन सकिने बताए ।

बैठकले रसुवा र भोटेकोशी क्षेत्रमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने निर्णयसमेत गरेको छ । यसका लागि यसअघि गठन गरिएको समन्वय समितिलाई नै जिम्मेवारी दिइएको ज्वालाले बताए ।

उनले भने, ‘पार्टी कमिटीहरू व्यापक रूपमा मोबिलाइज पनि भइरहेका छन्। युवा र विद्यार्थी संगठनहरू पनि मोबिलाइज भइरहेका छन्। र भोलिका निम्ति पनि हामी सक्रिय रूपमा जनताको सेवामा, जनतालाई उद्धार गर्ने कुरामा, राहत उपलब्ध गराउने कुरामा, उनीहरूको बसोबास लगायतका पुनर्स्थापनाको कुरामा, दुःख पाइरहेका विद्यार्थीहरूको व्यवस्थापनको सन्दर्भमा, घाइतेहरूको उपचार लगायतका विषयहरूमा हाम्रो पार्टी फेरि पनि अझै सक्रियताका साथ लाग्ने एउटा संकल्प, प्रस्ताव पनि हामीले पास गरेका छौँ।’

यसैगरी बैठकले महाधिवेशन तथा मातहतका अधिवेशनहरूको नयाँ कार्यतालिका बनाउने विषयलाई पनि सचिवालय बैठकमा लैजाने निर्णय गरेको छ । यसअघि भदौदेखि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश हुँदै मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिए पनि बाढी–पहिरोलगायतका कारण कार्यान्वयनमा कठिनाइ आएको ज्वालाले बताए ।

उनका अनुसार सदस्यता नवीकरणलगायतका कामलाई समेत ध्यानमा राखेर महाधिवेशन तथा अधिवेशनको नयाँ कार्यतालिका सचिवालय बैठकले तय गर्नेछ ।

बैठकले सरकारका गतिविधि, महँगी, भ्रष्टाचार, कुशासन, सुकुम्बासी तथा भूमिहीनका समस्या, अशान्ति लगायतका विषयसँगै राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि आन्दोलनका कार्यक्रमसमेत तय गर्ने तयारी गरेको छ ।

उनले भने, ‘आवश्यक पर्दाखेरि चाहिँ आन्दोलनका कार्यक्रम पनि संसद्मा पनि हामी सशक्त रूपमा आवाज उठाउने, सडकमा पनि जनजीविकाका सवालहरू, राष्ट्रिय स्वाधीनताका सवालहरू, जनताका मुद्दाहरू लिएर सडकमा जाने किसिमले सचिवालयको बैठकमा त्यो एजेन्डा हामीले प्रस्तुत गर्छौँ, सचिवालयको बैठकले त्यो कार्यक्रम पारित गर्छ।’

बैठकको प्रारम्भमा रसुवा तथा भोटेकोशी बाढी–पहिरोमा ज्यान गुमाएका नेपाली नागरिकसहित ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि पार्टी संयोजक प्रचण्ड र सहसंयोजक नेपालले राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथिका चुनौती तथा पार्टीको दायित्वबारे बैठकलाई अभिमुखीकरण गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १९:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।