लमजुङ । मनाङको निस्याङ गाउँपालिका–१ स्थित घताङ एग्रो क्षेत्रमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा रोकिएका थिए। सडक तथा पदमार्गको अवस्था सहज नभएपछि उनीहरूलाई डाइनेस्टी हेलिकप्टरमार्फत उद्धार गरी लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतका अनुसार उद्धार गरिएका पर्यटकलाई सहजीबाट ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमा पोखरातर्फ पठाइएको छ। उद्धार गरिएका पर्यटकमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह छन्। लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्गसँगै बेँसीसहर–चामे सडकसमेत प्रभावित भएको प्रहरीले जनाएको छ। सडक तथा पदमार्ग अवरुद्ध भएपछि पर्यटकको आवतजावतमा समस्या भएको थियो। उद्धारका क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जनाको टोली परिचालन गरिएको थियो।



















प्रतिक्रिया