नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन् । एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले जनताले पार्टीलाई विजयी गराउने उनको विश्वास छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै ओलीले गत फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खलाको संज्ञा दिए ।
उनले पार्टीको नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिए । पार्टीभित्र एकता कायम गर्दै अघि बढे मात्रै कार्यकर्तामा उत्साह भर्न र जनतामाझ एमालेप्रतिको आकर्षण फर्काउन सकिने उनको भनाइ थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अघि बढेको एमालेको काँधमा मुलुकलाई वर्तमान सङ्कटपूर्ण अवस्थाबाट निकास दिने अभिभारा आएको ओलीले बताए ।
उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न नपाएको आरोप लगाए । ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ उनले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा हुनुपर्छ । परिस्थितिलाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको विकल्प छैन।’
ओलीले वर्तमान सरकार बेलगाम हुँदै गएको र फासीवादतर्फ उन्मुख भएको आरोपसमेत लगाए । देशमा नागरिकले बोल्न नसक्ने अवस्था सिर्जना गरिएको तथा राज्य आतंक र गुण्डाराज चलेको उनको दाबी थियो ।




















प्रतिक्रिया