Logo

अर्थ

तीन महिनामै ७ खर्ब ६१ अर्बको वैदेशिक व्यापार, ५ खर्ब घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि असोजसम्म आयात र निर्यात गरी कुल ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको व्यापार भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशत बढी हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । चालु आवको समीक्षा अवधिमा व्यापारको आकार बढे पनि आयात र निर्यातबीचको ठूलो अन्तरले व्यापार घाटा थप बढाएको छ ।

चालु आवको असोजसम्म नेपालले ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । गत आवको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको विभागको तथ्यांक छ ।

यस्तै, साउनदेखि असोजसम्म नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका छन् । अघिल्लो आवको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यससँगै समीक्षा अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढेको छ ।

निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि आयातको कुल रकम निकै ठूलो रहेकाले नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।