Logo

विचार / ब्लग

जवाफी फायरमा ओली ‘नम्बर वान’



आखिर जसरी भएपनि मानिसको अन्तिम लक्ष्य चर्चा कमाउने नै हो । कोही राम्रो काम गरेर चर्चा कमाउँछन् उसलाई सबैले हाइहाई गर्छन् तर कोही भने नकारात्मक काम गरेर चर्चा कमाउन खोज्छन् ।अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि निकै चर्चित छन् तर कुनै राम्रो र महान कामले होइन । आफ्नो जिम्मेवारी बिर्सेर सधैं उरन्ठेउला भाषण गरेर विपक्षीलाई गालीमात्र गर्न उनी लागिपरेका छन् ।

आफू प्रधानमन्त्री भएको थाहा नपाएजस्तो गरी जथाभावी बोल्ने ओली दिनैपिच्छे जनताको नजरमा भनें गिर्दै आएका छन् तर उनले यो कुरालाई कुनै मतलब गरेका छैनन् । सधैं अरौटेभरौटेको पछि लागेर हाइहुइमै दिन बिताउने उनको दैनिकीजस्तै भएपछि देश र जनताको विषय टाढाको भएको छ ।

सरकार बनेको आज १३ महिना ७ दिन भएको छ । यो बीचमा सरकारले यो कामचाँही राम्रो गरें भनेर देखाउन त सकेन नै नभएका र हावादारी कुरा गरेर जनतालाई थप पीडा दिएको छ । हिजो निर्वाचनका बेला जनतामाझ गरेको प्रतिवद्धता उसले बिर्सेको मात्र होइन त्यसमाथि ठूलो घात गरेको छ ।

हिजो भारतले नाकाबन्दी गरेको बेला भारतको विरोध गरेर चर्चा कमाएका ओलीले अहिले कहिल्यै पनि माथि जान नसकिने गरी आफूलाई पतन बनाएका छन् । कसले मेरो बारेमा के भन्छ भनेर सधैं खोजी हिँड्ने उनी जवाफी फायरमा भने ‘नम्बर वान’ नै भएका छन् । सत्ता चलाउँदा ख्यालठट्टा गर्ने उनी अहिले पार्टीमा पनि अल्पमतमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीबाट खुशी छैनन् तर वाध्यताले कहिलेकाँही भने सरकारलाई सहयोग हुनेगरी बोलिदिने गर्छन् ।

निर्वाचनमा जाँदा बृद्धभत्ता महिनाको ५ हजार दिने भनेपनि अहिले व्याख्या फेरेको छ सरकारले । ५ वर्षसम्म ५ हजार पु¥याउने भनेर जनतालाई झुक्याउन जानेको नेकपाको चरित्र नराम्ररी प्रदर्शन भएको छ । आफ्नो लागि जे जति खर्च पनि सरकारी ढुकुटीबाट गर्ने र जनताको पक्षमा खर्चनुप¥यो भने सरकारी कोषमा पैसा छैन भन्न जान्ने सरकारप्रति सर्वसाधारणको विश्वास फेरि नफर्कने गरी गुमेको छ । विभिन्न किसिमका काम गर्छु भनेर विज्ञापन गर्ने अनि अन्तिममा तिनिहरुसँगै मिलेर ‘सेटिङ’ गर्ने धन्दा गर्नु सरकारको पेशाजस्तै भएको छ । भ्रष्टाचार गर्दा पनि गर्दिन र गर्न पनि दिन्न भन्ने नारा अहिले गाउँखाने कथाजस्तै भएको छ ।

सरकारले आफ्नो दायित्व बिर्सदा वास्तवमा कम्युनिस्ट सरकार जनताको पक्षमा हुँदो रहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले यो सरकार ५ वर्षसम्मको लागि हो १ वर्षमै परिणाम खोज्ने होइन भनेर जनतालाई ढाँटेपनि जनतामा पलाएको बिबेकले सरकारलाई क्षमा दिन सक्दैन ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।