Logo

प्रमुख समाचार

मूल्य निर्धारण गरेको ३ साता बित्दा पनि किसानले निर्धािरत मूल्य पाएनन् !



यही ५ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा मूल्यनिर्धारण गर्यो । उक्त निर्णय सरकारले कात्तिक ७ मा सार्वजनिक पनि गर्यो । तर, किसानहरुले अहिले पनि सो मूल्य नपाएको बताएका छन् । उनीहरुले धानगहुँ बेच्ने बेला कहिल्यै उचित मूल्य नपाउने गरेको गुनासो गरेका छन् ।

गतवर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ मूल्य तोकिएको थियो । सरकारले यस बर्ष किसानको हितका लागि भन्दै गतवर्षको तुलनामा प्रतिक्विन्टलमा २ सय बढी मूल्य निर्धारण गर्यो । त्यो पनि धेरै किसानहरुले धान बेचिसकेपछि । अहिले पनि धान बेच्दा सरकारले निर्धारण गरेको मूल्य नपाएको धनगढीका आशिक रानाले बताए ।

सरकारले बर्षेनी ब्यापार, ब्यवसाय र रोजगारीका क्षेत्रमा ह्वात्तै धेरै तलब र मूल्य बढाउने गरेको भएपनि कृषि उपजको मूल्य निकै कम बृद्धि गर्ने गरेको बताए । ‘किसानहरु कत्ति धेरै लगनका साथ खेती गर्छन्, भित्र्याउँछन् । तर, कहिले पनि किसानले उत्पादनको न्यायोचित मूल्य पाउँदैनन्’ उनले भने ‘ढिलो गरि मूल्य निर्धारण गरेको सरकारले आफ्नै तोकेको मूल्य पनि कार्यान्वयन गर्न सक्दैन् । आफ्नो मेहनतको सहि मूल्य नपाउँदा हरेक बर्ष धेरै किसान कृषि पेशा छोड्न बाध्य भएका छन् ।’

देशको आधा भन्दा बढि जनसंख्या कृषिबाटै आफ्नो जिवन निर्वाह गरिरहेका बेला सरकारले उनीहरुको उत्पादनको सहि मूल्य र सम्मान दिन नसकेको धनगढी जाईका आँशु चौधरीले बताए । उनले सरकारको यहि मूल्य कार्यान्वयनको परिपाटिका कारण बर्षेनी किसानहरु कृषि पेशाबाट पलायन भैरहेको गुनासो पोखे ।

‘सरकारले हरेक बर्ष ढिलो गरी मूल्यनिर्धारण गर्छ । किसानहरु बाली बेच्न जाँदा त्यहि पनि पाउँदैनन्’ आशुले भने ‘ब्यापारीहरु सरकारले तोकेको मूल्य दिँदैनन्ः सरकारले राखेका खाद्य संस्थानका कार्यालयहरु किसानलाई रकम अभाव भएका बेला धान खरिद गर्दैनन् । त्यहि पनि सरकार मौन बस्छ ।’

सरकारले तोकेको मूल्य कार्यान्वयन भएन

सरकारले धानको मूल्य तोकेको तिन साता बित्दा पनि सो निर्णय कार्यान्वयनमा आएको छैन । सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैया“ १६ पैसा मूल्य निर्धारण त गर्यो । त्यसको कार्यान्वयनमा खासै चासो दिएको पाइँदैन् । किसानहरु अहिले पनि २ हजार देखी २ हजार ३ सय रुपैयाँ प्रति क्विन्टलमा धान बेच्न बाध्य छन् ।

कैलाली जोशीपुरका रामचन्द्र चौधरीले भने, ‘सरकारले त मूल्य तोकेको भनेको सुनेको थिए । तर, त्यो मूल्य हामी किसानले पाएकै छैनौं ।’ उनले थपे, ‘व्यापारीहरूले सस्तोमा मात्रै धान खरिद गरिरहेका छन् । खेती लगाउने बेला लागेको कर्ज यहि धान बेचेर तिर्नुपर्छ । धान सस्तोमा भएपनि बेच्नै पर्ने बाध्यता छ ।’

सरकारले धानको मूल्य तोके पनि व्यापारीले सोअनुसार मूल्य नदिँदा किसान मर्कामा परेका छन् । काँटा पिच्छे व्यापारीहरूले धानको मूल्य फरक तोकेको धनगढी जाँइका राधेश्याम रानाले बताए । ‘सरकारले अनुदानमा दिने मलखाद पाइदैन । महँंगोमा भएपनि अन्तबाट खरिद गरेर जसोतसो खेती रोप्छौं । लगानी पनि निकाल्न समस्या हुन्छ’ उनले भने ‘सरकारले अन्य निकायका ब्यक्तिहरुका समस्या सहजै समाधान गरेपनि किसानको पिडा कहिल्यै महसुस नगर्ने भयो ।’

सरकारले धानको मूल्य तोकिएको भए पनि व्यापारीले भने आफूखुसी धानको मूल्य तोकी किसानहरूबाट खरिद गरिरहेका छन् । सरकारले तोकेकै मूल्य किसानहरुलाई दिँदा आफु मर्कामा परिने व्यापारीहरुको तर्क छ । राज श्री फुड इन्डष्ट्रिज कैलालीका म्यानेजर मनोज अग्रवाल सरकारले तोकेको मूल्य किसानलाई प्रदान गर्न नसकिने बताउँछन् ।

‘सरकारले धानको मूल्यनिर्धारण गरेर मात्र के गर्नु ? चामलको मूल्य बढेको छैन् । चामल किन्नेबेला सस्तोमा बेच्नुपर्छ । कित चामलको मूल्य पनि बढाउनु पर्यो । तब मात्रै किसानलाई सरकारले तोकेको धानको मूल्य दिन सकिन्छ’ उनले भने निर्धारण गरेको मूल्यमा सरकार आफैंले किसानको धान किन्न पनि सक्नुर्पयो । मूल्य निर्धारण गरेर सरकार पन्छिने अनि व्यापारीलाई मारमा पार्ने ?’ उनले अहिले आफुले किसानबाट २३ सय रुपैयाँ क्विन्टल धान खरिद गरिरहेको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि धान खरिद गरेन :

सरकारले धानको मूल्य निर्धारण गरेर प्रत्येक अञ्चलमा रहेका खाद्य संस्थानहरूका काँटा लगाई किसानको धान खरिद गर्नु पर्दछ । हरेक बर्ष झै यस बर्ष पनि खाद्य संस्थानले किसानलाई आवस्यक परेका बेला धान खरिद गर्न सुरु गरेको छैन् । उसले व्यापारीहरूले सरकारी मूल्य कार्यान्वयन गरे नगरेको पनि अनुगमन गरेको पाइँदैन् ।

यस वर्ष पनि सरकारले धानको मूल्य निर्धारण लामो समय बितिसक्दा पनि खाद्य संस्थानले किसानको धान खरिद सुरू गरेको छैन । खाद्य संस्थानबाट नाम परिवर्तन भई बनेको अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सरकारले मूल्य निर्धारण गरेको भएपनि धान खरिदका लागि खबर नआएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका जिन्सी अधिकृत धर्मराज पन्तले सरकारले धान खरिदका लागि आदेश नदिएकोले कार्यालयमा प्रकृया अघि नबढेको बताए । ‘हामीहरुको केहि पनि कमजोरी छैन् । सरकारले नै धान खरिदका लागि ढिलो गरि खबर गरेपछि हामीहरुले सोहि अनुसार काम अघि बढाउँछौं’ उनले भने ‘धान खरिद गर्न अझै केहि समय लाग्ला जस्तो छ ।’

सरकारसँग संस्थानको अनुदानलगायतका विषयमा कुरा नटुंगिइसकेकाले धान खरिदका लागि मातहतमा निर्देशन नआएको उनको भनाइ छ । सरकारले तोकेको मूल्यनिर्धारण कार्यान्वयनको जिम्मा पाएको निकाय नै बेखबर हुँदा त्यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।