सुदूरपश्चिम प्रदेशमा मानव बेचविखनका घटना बर्षेनी बढ्दै गैरहेका छन् । यसको नियन्त्रणका लागी विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु अभियाननै निकालेर लागेपनि उनीहरुको प्रयास प्रभावकारी वन्न सकेको छैन ।
कात्तिक २१ गते राती जिल्ला प्रहरी कार्यालय कैलालीले बेचबिखनमा परेकी ४ युवतीको उद्धार गर्यो । प्रहरी बेचबिखनमा संलग्न चितवनकी ३९ बर्षीय सपना प्रजापतिलाई पनि पक्राउ गर्न सफल भयो ।
सपना प्रजापतिले ति ४ जना युवतीलाई फेसबुकबाट राम्रो रोजगारीको प्रलोभनमा पारेर बेचबिखनका लागि भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो समय पढेलेखेका शिक्षित युवतीहरु पनि राम्रो जागिर र थोरै समयमा धेरै पैसा कमाउने लोभका कारण बेचबिखनमा पर्ने गरेका छन् । प्रहरीका अनुसार चालु आर्थिक बर्षको ४ महिनामा कैलालीको त्रिनगर नाकाबाट ७ जना महिलाको उद्धार गरिएको छ ।
पछिल्लो तिन बर्ष यता ८८ महिला बालवालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । ‘बर्षेनी यो संख्या कम हुनुको साँटो बढ्दै गैरहेको छ’ उनले भने ‘महिलाहरु बढि महोत्वाकांक्षि भैदिदा बेचबिखनमा पर्ने गरेका छन् । दलालहरुले बिभिन्न प्रलोभनमा पारेर उनीहरुलाई अर्को मुलुक पुर्याइदिने गर्छन् ।’
मानव बेचविखन ओसार पसार रोक्न प्रहरी सँगै बिभिन्न गैर सरकारी संस्थाले पनि विभिन्न अभियान थालेका छन् । माइती नेपाल कैलाली प्रमुख शिवचरण चौधरीले चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा कैलालीको त्रिनगर नाकाबाट मात्रै ६६ जना महिलाको उद्धार गरिएको बताए । उनले हरेक बर्ष दलालहरुले नयाँ नयाँ तरिका अपनाएर चेलिलाई सिमा कटाउने भएकोले पक्राउ गर्न समस्या हुने गरेको बताए ।
‘पहिले नपढेकाहरु मात्रै बेचबिखनमा पर्ने गर्थे । अहिले बढि जसो पढेलेखेका महिला तथा वालिकाहरु रोजगारीका नाममा बेचिने गरेका छन’ माइती नेपाल धनगढी, कैलालीका प्रमुख शिवचरण चौधरीले भने, ‘बढि महत्वकांक्षी भएका महिलाहरु छिटै नै धनी हुने लोभमा बेचविखनमा पर्ने गरेका छन् ।’

माइती नेपाल कैलालीले धनगढीका अनुसार गत आर्थिक बर्ष २०७५-७६ मा त्रिनगर नाकाबाट मात्रै डेढ सय जना महिला तथा बालिकाको उद्धार गरिएको छ । आर्थिक बर्ष २०७४-७५ मा गैरीफन्टा नाका भएर भारत तर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरेको छ । आर्थिक बर्ष २०७३-७४ मा भने भारततर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरिएको थियो ।
बेचबिखन नियन्त्रणका लागि भारतीय सीमा नाकामा झन्डै २ दशक अगाडिबाट प्रयास भैरहेको भए पनि त्यसमा प्रत्यक्ष संलग्न व्यक्ति तथा गिरोह भने पक्राउ पर्न नसकेको माइती नेपाल प्रमुख चौधरीको भनाई छ । तल्लो स्तरका ब्यक्तिहरु पक्राउ पर्ने गरेको भएपनि मुख्य गिरोह अन्तबाट सञ्चालन हुने भएकोले उनीहरुलाई पक्रन समस्या हुने गरेको उनले बताए ।
सुदुरपश्चिमको मुख्य नाका गौरीफन्टा तथा अन्य जिल्लाका सहायक नाकाबाट बर्षेनी हजारौ नेपाली चेलीहरुलाई दलालले सीमा कटाइ दिन्छन् । चेलिबेटि बेचविखन सम्बन्धि कार्यरत अर्को संस्था थ्रि एन्जल नेपाल धनगढी शाखाले पनि चेलिवेटि बेचविखन रोकथामका लागि जत्ति नै संघसंस्था लागेपनि चेलिवेटी बेचिने क्रम रोकिनुको साँटो बढेको बताएको छ । थ्रि एन्जल नेपाल धनगढी शाखाका प्रमुख वीर बहादुर विकले भने, ‘बेचविखनमा पर्नेमा १५ बर्ष देखि २०-२२ बर्षका युवतिहरु बढि रहेका छन ।’ यसरी वैदेशिक रोजगारीमा हिँडेको दाबी गर्नेहरूसँग त्यससम्बन्धी कुनै कागजात नहुने गरेको उनले बताए ।
चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत अर्को शान्ति पुनस्र्थापना गृह नेपालकी पार्वती चौधरीले भनिन ‘अहिले शिक्षित र अझ बिबाहित महिलाहरु पनि फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गर्छन ।’ उनले बर्षेनी सिमा कटाउने चेलीको संख्या बढेको बताइन् । केहि महिलाहरुका दलालहरु आफन्त र घर परिवारकै ब्यक्ति हुने गरेकोले उनीहरुलाई रोक्न समस्या हुने गरेको पनि चौधरीले बताइन् ।
अहिले परिचय बिना नै फोनमा कुरा भएको भरमा पढेलेखेका युवती र महिलाहरु पनि बिना कुनै कानूनी प्रक्रिया पुर्याइ घर छोडेर राम्रो आम्दानी र अर्को बिहे गर्ने लोपमा आफन्तबाटै बेचिने गरेका छन । बर्षेनि नेपालबाट भारत हुँदै तेश्रो मुलुकमा समेत चेलिबेटी बेचबिखन भइरहेको पाइन्छ । कोहि स्वेच्छाले त कोहि गरिबि र बाध्यताका कारण चेलिहरु सिमा कटाउन बाध्य भएका छन ।
यसको रोकथामको. लागी विभिन्न अभियान सञ्चालन गरिए पनि ति संघ संस्था बिच समन्वय नहँुदा प्रभावारीता देखिएको छैन् । अव भने मानव बेचबिखनको रोकथामको लागी सरोकारवाला सबै निकाय बिच समन्वय हुन आवश्यक रहेको स्वतन्त्रता नेपाल कैलाली संयोजक रितु भट्टराईले बताइन् । ‘चेलिबेटि बेचबिखन रोकथामका लागि थुप्रै निकायहरु सक्रिय छन् । तर, उनीहरुबिच समन्वय हुन नसक्दा दलालहरुको गृह सक्रिय भएका काम गर्न सफल भएको छ’ उनले भनिन् ‘पूर्वका चेलिहरु पश्चिमका नाका र पश्चिमका चेलिहरु पूर्वका नाका भएर बेचिने भएकोले संस्थाहरु बिच समन्वय हुन एकदमै जरुरी छ ।’

रोकथामका जतिसुकै अभियान सञ्चालन गरिए पनि मानव बेचविखनमा कमि आउन सकेको छैन् । अव भने यसको रोकथामका लागी स्थानिय सरकारले पहल कदमी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । धनगढी उपमहानगरपालीका प्रमुख नृप वडले पनि मानव बेच बिखन तथा ओसार पसार रोक्न तिनै तहको सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए । उनले ‘विदेशमा बेचिएका चेलिको ब्यथा पोखि नसक्नु भएको बताए । त्यसैले उनीहरुको उद्धार र बेचबिखन रोकथाम गर्न सबै निकाय सक्रि हुनुपर्नेमा सहमती जनाए । नगर प्रमुख वडले भने ‘यसको समाधानका लागि सबै एक भएर लाग्न आवस्यक देखिएको छ ।’
समाजिक तथा आर्थिक दृष्ट्रिकोणले पछाडी परेकाहरु कामको खोजिमा भारत जाने गरेका छन् । आर्थिक शैक्षिक बिपन्नता र खुला सिमानाका कारण नेपालका अन्य क्षेत्रका महिला बालबालिका र पुरुषहरु समेत कैलाली कञ्चनपुरका खुला नाकाबाट बेचविखनमा पर्ने गरेका छन् । माइती नेपाल कैलालीका प्रमुख चौधरीले भने, ‘यसरी त्रिनगर नाका हुँदै युवतीहरु भारतका दिल्ली, बम्बै, पुनामा लगेर बेचिने गर्छन ।’ उनले अगाडि थपे, ‘बेचिने युवतीहरु केहि यौन धन्दाका लागि त केहि अन्य प्रयोजन स्तन पान, उद्योग कलकारखानामा काम गर्न, घरमा काम गर्नका लागि पनि बेचिने गरेका छन ।’ उनले भने, ‘जब सम्म युवति तथा महिला स्वयममा शिक्षा संगै चेतनाको विकास हुँदैन तब सम्म आफन्त र साथीभाइबाटै चेली बेचिने क्रम रोकिदैन ।’
दलाल ब्यक्तिका नजिकैको हुने भएकोले भारत जान परेपनि बुझेर जानपर्ने धनगढी बुद्धचोकका निराज बिष्टले बताए ।





















प्रतिक्रिया