Logo

विचार / ब्लग

पशुपतिनाथ लगायत विश्वका शिव मंदिरहरुमा महाशिवरात्रीको महीमा



महाशिवरात्री विश्वका समस्त हिन्दुहरुको एक महत्वपूर्ण दिन हो । २०७६ सालमा फाल्गुण ९ गते शुक्रबारको दिन महाशिवरात्री हो । नेपालको पशुपतिनाथ, शिव मंदिर र भारत तथा विश्वका शिवजीको मंदिरमा शिवरात्रीको दिन असंख्यौं साधु, सन्त, तपस्वी लगायत हजारौं तीर्थयात्रीहरुको उपस्थिति रहन्छ । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमा छ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ ।

नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध थामहरु छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलहरुको साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरुको विश्वब्यापी मान्यता छ ।

पशुपतिनाथ विश्वभरका हिन्दुहरुको लागि आकर्षणको केन्द्र बनेको छ । भारत र अन्य देशबाट लाखौं तीर्थयात्रीहरु तथा साधु–सन्तहरु पशपतिनाथको दर्शनार्थ आएका हुन्छन् । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरु, ताल, धाम, जंगल, भूभागले सीचित छ । उता भारतखण्डमा एकहजारबर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरु तोडफोड गरेर बिटुलो बनाउँदै आफ्नो भाषा, धर्म र संस्कृति लाध्ने काम गर्‍यो । तर नेपाल एकमात्र पवित्रभूमिको रुपमा सुरक्षित हुँदै आफ्नो असिमता बचाउन सकेकोले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । नेपालमा पशपतिनाथको पूजारीको रुपमा दक्षिण भारतबाट भट्ट पूजारीको व्यवस्था छ । भारतका कैयौ मंदिर धामहरुमा नेपाली पूजारीहरु रहने व्यवस्था रहेको छ । नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो ।

महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविबंशका पहिला राजाले ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए । उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवतखण्डमा उल्लेख छ ।

भारतमा मुस्लिम साम्राज्यको बेला विक्रम संवत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौतीहुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कम्जोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चिएको अवस्थामा यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।

(योगी नरहरिनाथ) त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णेद्घार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोमगर्दै शुद्धशान्ति गरेर पराई धर्म र आक्रमणकारीबाट पुशपतिनाथ माथि कुनै कुदृष्टी नपरोस भन्नका लागि नैं जयस्थिति मल्लले त्यसैबेलादेखि पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्ध बाहेक अरुहरुलाई प्रवेश निषेध गर्ने नियम चलाएको थियो । पहिपतिनाथको मन्दिरभित्र यसरी हिन्दुलाई मात्र प्रवेश गरेर पशुपतिनाथलाई संकृर्ण बनाइएको छ भन्ने विवाद पनि उठाइएका छन् ।

पशपतिनाथमैं विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्– ‘विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राम्हण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुनसक्छन् । मंदिरको पुजारी कृष्ण यजुर्वदीय परम्पराका हुन्छन् । यजुर्वेदीय परम्पराका नेपाली विद्वान पशुपतिनाथको पुजागर्न योग्य व्यक्तिहरु अहिले उपलब्ध छन् जस्तो लाग्दैन ।’ पूजारीको संवन्धमा प्रतापमल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरुको माग अनुसार भट्टहरु पशपतिनाथका पुजारी बनाइएको हो ।

अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्टहरु तथा भण्डारीहरु गृहस्त हुन्छन् । भारतका कैयौ मंदिर धामहरुमा नेपाली पूजारीहरु रहने व्यवस्था रहेका छन् ।

कतिपय नास्तिकहरु प्रश्न गर्ने गर्छन् किधर्म भनेको सबैको लागि साझा मानिनु पर्छ भन्दै पशुपतिमा अन्य धर्मावलम्वीहरुलाई रोक लगाएकोमा असंतुष्ठी व्यक्त गरेको पनि पाइन्छ । तर परम्परागत मान्यतालाई विचलित बनाएर मान्यतालाई तोड्न सकिदैन । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानून भन्दा माथि मानिन्छ । कैयौं मस्जित र चर्चहरुमा यो भन्दा कडा नियमहरु लगाएका छन् । सउदी अरबमा शिवजीको फोटो समेत बोक्न पाइदैन । पाकिस्तानमा नैं घोडाका टापको औठी लगाएर हिड्ने हिन्दुहरु सुरक्षित हुन्नन् भनिन्छ ।

कतिपय तर्कहर युक्तिसंगत लागेता पनि धार्मिक परम्परालाई तोड्न सजिलो हुँदैन । संविधान फेरिरहन सकिन्छ तर परम्परागत नियमहरु बदल्न गाह्रो हुन्छ । तर पशुपतिनाथमा जुनजस्ता नियम लागु छन्, ती सबैमा तर्कसंगत देखिन्छन् । कैयौं मस्जित र चर्चहरुमा यो भन्दा कडा नियमहरु लगाएका छन् । सउदी अरबमा शिवजीको फोटो समेत बोक्न पाइदैन । पाकिस्तानमा नैं घोडाका टापको औठी लगाएर हिड्ने हिन्दुहरु सुरक्षित हुन्नन् भनिन्छ ।

भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, माथिभरा, बौद्धनाथ धाम जस्ता प्रसिद्ध धामहरु छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलहरुको साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरुको विश्वब्यापी मान्यता छ । नेपालको साथै भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष–कामरुप, आदि पवित्र स्थलहरुमा नेपाल र भारत बीचमा त्यत्तिकै तादात्म्यता छ । भारतका धामहरुमा नेपालका राजाहरुको पुजाआजा गर्ने विशेषाधिकार छ । यसो भएकाले नेपाल तथा भारत हिन्दुत्वको चीरकालसम्म मैत्रीपूर्ण कायम गर्नसक्ने अवस्था छ ।

हजारबर्षसम् मभारतमा मुसलमान र अंग्रेजी साम्राज्यको कारणले हिन्दु सभ्यता विस्थापित हुन लागेको अवस्था थियो । भारत स्वतन्त्र भएपछि पनि हिन्दुत्वको अस्तित्वको लागि जवहारलाल नेहरुदेखि इन्दिरा गाँधी, राजीव गाँधी र सोनीया गाँधीहरुको निर्वाचित सरकारले भारतमा प्रभावकारी काम गर्न नसकेकाले झन झन भारतको अस्मिता नष्ट हुन लागेको अवस्थामा भारतमा हिन्दुवादी राष्ट्रवादी पार्टी भाजपा २०७० सालदेखि भारतमा सत्तामा आएको छ ।

२०७६ सालको प्रारम्भमा पहिलो पाँचबर्षको कार्यकाल लोकप्रियकासाथ पूरा गरेर अहिले पुःन सत्तामा आएको छ । २०७० सालदेखि नैं हिन्दुवादी नेता नरेन्द्र मोली प्रधानमंत्रीको रुपमा नेतृत्व गरिरहेका छन् । भाजपा र नरेन्द्र मोदीको सरकारले नेपालमा हिन्दू अधिराज्य र हिन्दु राजसंस्था इथावत रुपमा रहिरहनु पर्छ भन्ने मान्यता राखछ । यस हिसावले भारत नेपालको लागि हिजो सोनीयाँ गाँधी (इटालिउन क्याथोलीक)को शासनकाल जस्तो खतरनाक छैन ।

वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । सभ्यताको विकासक्रममाम संसारभरका देशहरुमा हिन्दुधर्म र संस्कृतिको गहिरो प्रभाव पारेको पाइन्छ । संस्कृति एवं सभ्यतामा शिवलिङ्ग पूजा पनि त्यसैको प्रतिविम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिंधुघाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खनन्मा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वब्यापी भएको कुरा पुष्टी हुन्छ ।

शिवलिङ्ग बारेमा शिवपुराणमा वृस्तित ब्याख्या छ । शिवपुराणमा शिवजी बारे उल्लेख छ– ‘शिवलिङ्ग समसद्भूतः कोटीसूर्यसम प्रभुः’। ‘देव देवज महादेव ! नीलकण्ठ नमोस्तुते !’ कालरात्री, मोहरात्री र महारात्री यी तीन रात्रीको हिन्दु जगतमा बिशेष महत्व छ । यी रात्रीहरु मध्ये महारात्री नैं महाशिवरात्री हो । ‘सत्यं शिवं, सुन्दरम् ।’ शिव भनेको कल्याण हो । हिन्दु तथा बौद्धहरुले अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा मान्छन् ।

एउटा खोजपूर्ण कुरा के छ भने – कैलास मानसरोवर विशाल नेपालको सिर्जना हुनुभन्दा पहिला र पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरेर विशाल नेपालको सिर्जना भएकोबेलादेखि नेपालकै भूभाग थियो । तर अहिले चीनको भूभागभित्र पर्दछ । यो हिन्दु तथा बौद्धहरुको तीर्थस्थल कसरी कसरी चीनको भूभागभित्र पर्‍यो, यो खोजिको विषय छ । मलाई लाग्दछ– चन्द्र शम्सेरको पालासम्म कैलासमानसरोवर नेपालको भूभागभित्र नैंं थियो ।

समय परिस्थितिले हिमवत्खण्ड भित्रका राज्यहरु स–साना राज्यहरुमा विखण्डित भएर आ–आफ्नो अस्तित्वको सुरक्षा गर्न नसक्ने अवस्था पुगेका थिए । यस्तो स्थितिमा स–साना टुक्रामा विभाजित हिमवत्खण्डका हिन्दु राज्यहरुलाई एकताको शुत्रमा आवद्ध गराउन सूर्य र चन्द्रमाको झण्डा लिएर हिमवत्खण्डका स–साना राज्यहरुको एकीकरण गोर्खाका राजा पृथ्वीनारायण शाहबाट भएको थियो । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो ।

सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो । ’पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड हो । हिमवत्खण्डभित्रको कैलासमानसरोवर नेपालबाट कसरी चीनमा पर्न गयो । यसको खोज अनुसन्धान गरी वास्तविकता पत्ता लगाएर नेपालले चीन सरकारसँग विनम्र अनुरोध गरेर नेपालले फिर्ता माग्नु पर्छ ।

‘वास्तवमा हिन्दु तथा बौद्धको तीर्थस्थल चीनको सरोकारको विष हुन सक्तैन । यसरी शिवजीको तपोभूमिलाई बन्धक बनाउनु चीनको लागि पनि उचीत हुँदैन । चीन नेपालको मित्र शक्ति हो । चीनलाई संझाउन सक्यो भने नेपालको मागलाई स्वीकार गर्न सक्छ । हुम्लाबाट कैलास मानसरोवरको उक्ततर्फको क्षेत्र कतिपर्छ त्यत्तिमात्र क्षेत्र जहाँ कैलास मानसरोवरको क्षेत्र छ त्यो नेपालले फिर्ता पाएमा हामी नेपाल, भारत र विश्वभरका हिन्दु तथा बौद्धहरु चीनसँग सँधै आभारी हुनेछौं । हिमवतखण्ड र भारतखण्ड्रमा मानवीय सभ्यताका स्रोत, सिर्जना र जीवन पद्धतिका मार्गदर्शनको रुपमा श्रुतिका रुपमा एक अर्कामा ब्यापक हुँदै क्रमशः श्रुतिबाट वेदशास्त्रको जन्म भयो । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शंम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ ।’

कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो । यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरु अतिनैं प्रिय मानिन्छन् । शिवरात्रीमा पशपतिनाथ लगायत नेपाल भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरुमा धुमधामका साथ जागृत बसेर आराधना गर्ने परम्पराछ ।

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेख छ– प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अतिनैं प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड,पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ । त्यस्तै अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्ने गर्छन् ।

आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसलाई परम्परागत अस्तित्व ठान्छन् । शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुहरु लगायत खास गरेर नेपाल र भारतका लाखौं साधु–सन्त लगायत हिन्दु धर्मावलम्वीहरु पूजा अर्चना र दर्शनको लागि आउँछन् । विक्रम संवत् २०७६ सालमा शिवरात्रीको अवसरमा सम्पूर्ण तीर्थयात्री तथा साधु–सन्तहरुको भक्तिभावनाले सार्थक रुप लिन सकोस् र सम्पुर्ण जगतका नरनारीहरको पशुपतिनाथले सबैको कल्याण गरुन् ।

Email: dirgharajprasai@gmail.com

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।