नेपाली भूमिमा गाडिएको सीमा पिलर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र स्थानीयले तोडफोड गरिदिएका छन् । हालै नेपाल भारत संयुक्त संर्वे टोलीले निर्माण गरेको एक सहायक सीमा पिलर तोडफोड गरिएको हो । शनिबार (नेपाल–भारत) कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा गाडिएको ७८३-४ नम्बर पिलर तोडफोड गरिएको छ ।
नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पूर्व संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा सहितका काँग्रेस जिल्ला, क्षेत्र र स्थानीय नेतृत्वको सीमा अनुगमन थियो । त्यही सीमा अनुगमनका क्रममा काँग्रेस कार्यकर्ता र स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेको थिए । उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरेर सीमा पिलर तोडफोड गरेका छन् । स्थानीय एव काँग्रेस कार्यकर्ताले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको बिरोध गरेका थिए ।
नेपाली काँग्रेसका नेता जनक सिह धामीले भारतले नेपाली भूमी हड्प्नका लागि लालपुर्जाधारी नेपालीको जमिनमा सीमा पिलर गाडेको बिरोधमा स्थानीयले तोडफोड गरेको बताए । ‘नेपालीको जमिनमा सीमा पिलर गाडिएको र गाड्नका लागि तयारी अवस्थामा रहेका खाडलको अनुगमन गर्ने कार्यक्रम थियो, ‘उनले भने, ‘हाम्रो अनुगमनका क्रममा स्थानीयबाट जनआक्र्रोस स्वरुप सीमा पिलर तोडियो ।’
उनका अनुसारले काँग्रेस नेताहरुले रोक्ने प्रयास गरेपनि जनआक्र्रोसको भिडले सीमा पिलर तोडेरै छाडे । संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्न र गाड्नका लागि खाल्टा पारेको थियो । नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिलर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा विवाद चुलिएको छ ।
उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले सरकारी लार्पबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले काँग्रेस जिल्लाले सो क्षेत्रमा स्थलगत अनुगमन गर्ने क्रममा स्थानीयबाट तोडफोड गरिएको बताए ।
‘हामी त्यहाँ पुग्नु अवागै तोडफोड भईसकेको रहेछ, ‘उनले भने, ‘हामी र हाम्रा कार्यकर्ताबाट सीमा पिलर तोडिएको होईन् ।’ काँग्र्रेस सभापति बोहराले सीमा पिलर तोडिनुलाई जनआक्र्रोस भनेका छन् । सीमा पिलर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाईएको छ ।
स्थानीयले पनि लालपुर्जाधारी जमिनमा सीमा पिलर परेकाले त्यसको बिरोध गर्दै आएका छन । कतिपय स्थानीयले भने सीमा क्षेत्रमा तोडफोड भन्दा पनि कुटनीतिक ढङगबाट सीमा समस्या समाधानमा सुझाव दिएका छन् ।





















प्रतिक्रिया