कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।
उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंको टेकु पठाउन लागिएको अस्पतालले जनाएको छ । काठमाडौंमा कोरोनाको संक्रमण देखिएकी १९ बर्षीया युवतीसँगै उनीहरु यही चैत ४ गते नेपाल आएका थिए ।
चीनबाट कोरोना भाइरसको उपचार र परीक्षणका लागि सामान आउँदै
चीनले नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू दिने भएको छ । उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन तयारी भइरहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले के–के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबीच छलफल भइरहेको बताएका छन् ।
यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के–के सामग्री चाहिन्छ भनेर सोधेको थियो । नेपालले आफूलाई चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छिन् ।
सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं !’
यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए । कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ ।




















प्रतिक्रिया