Logo

अनलाइनपाना खोज

विमलेन्द्र निधिको उम्मेदवारीले कांग्रेसमा क्रमभंगता



नेपाली कांग्रेसको गएको असार २२ को केन्द्रिय समितिले आउँदो फागुन ७ – १० मा काठामाण्डौमा १४ औं महाधिवेशन सम्पन्न हुनेगरी तालिका पारित गरेपछि त्यो दिनको गन्ती सुरु भएको हो । यो मिति तोकिँदा त्यो दिन आउन २२५ दिन बाँकी थियो भने अव त्यो घटेर भदौं ७ बाट गणना हुँदा १८० दिनमात्र बाँकी छ । यो भनेको प्रमुख प्रतिपक्षी दल कांग्रेसमा महाधिवेशन लागिसकेको अवस्था हो ।

दिनले मात्रै होइन आगामी अवधीका लागि यो दलको नेतृत्त्वको दावी गर्नेहरुको लर्कोले पनि महाधिवेशन लागेको वताउछ । महाधिवेशशनका दिन घटदै जाँदा यता उम्मेदवारका सख्या बढदै गएका देखिन्छन । महाधिवेशन हुन उल्लिखित १८० बाट दिनहरु ओरालो लाग्दा यो दलको यो महाधिवेशनमा खासगरी सभापतिको उम्मेदवार दावी गर्नेहरुको सख्या एक दर्जनमा छ । यो बढला तर घटने संकेत देखिँदैन ।

त्यही मध्येका एक हुन हालका उपसभापति विमलेन्द्र निधिपनि । निधि एक दर्जनमा एकजना हुन तर त्यो एकजनामा उनी विशेष नै देखिएका छन । त्यसकारण यो चरणमा उनको चर्चा हुन गएको हो । वर्तमान सभापति, बरिष्ठनेता अर्थात तेह्रौं महाधिवेशनका निकटतम प्रतिश्पर्धी, वर्तमान महामन्त्री, पूर्वमहामन्त्री, महामन्त्रीमा पराजित र गएको महाधिवेशनमा सबैभन्दा बढी मत प्राप्त गर्ने आदि अहिलेदेखि नै चर्चामा आएका सम्भावित उम्मेदवार हुन । यी मध्येमा उपसभापति निधिको उम्मेदवारी विशेष प्रकारको नै मान्नु पर्छ । त्यसको कारण हो कांग्रेसमा नेतृत्व हस्तान्तरणको नयाँ अभ्यासको नयाँ प्रकारले थालनी हुनु ।

निधिले नेपाली कांग्रेसको यो महाधिवेशनमा सभापतिका लागि आफनो उम्मेदवारीको सार्वजनिक घोषणा गरिसकेका छैनन । तर कतिपय अनौपचारिक जानकारीले त्यस्तो उम्मेदवारी घोषणा भैसकेको बुझाउछ यतिबेला नै उनले आफुलाई प्रस्तुत गरेका यो अवस्थामा नै अडिरहे भने ।

गएको साउनको अन्तिम हप्ताका दिनमा निधिका जेजस्ता प्रस्तुतीहरु भए तिनबाट उनीे यो महाधिवेशनमा सभापतिको उम्मेदवार पक्कापक्की भएको बुझाउन पर्याप्त होलान ।

जस्ताे, साउन २८ मा उनले आफू निकटका थोरै व्यक्तिलाई आफ्नो निवास बोलाए र १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराए । उनले आफन्त र मित्रहरुबीच यस्तो उम्मेदवारी घोषणा गर्दा नेपाली कांग्रेस भित्र यस्तो घोषणा गर्नेहरुको सख्या बढी रहेको थियो । त्यसकारण उनको त्यसदिनको यस्तो जानकारी पनि त्यसै मध्येको एउटा मानिएर रह्यो जो स्वाभाविक पनि थियो ।

तर यसको दुइदिन पछिको अर्को एक दिन यो उम्मेदवारी सम्वन्धमा नै अर्को घटना भयो अर्थात त्यसले एउटा बलियो आकार लियो । त्यो थियो आफुलाई उपसभापति बनाउने सभापति समक्ष आफनो उम्मेदवारीको घोषणा र उताबाट पर्याप्त सहयोगको अपेक्षा प्रकट हुनु । पहिलो दिन आफनो निवासमा त्यस्तो पहिलो घोषणा गर्दा धेरैले पत्याएका थिएनन । तिनका मनमा शँका थियो वा जन्मियो होला, यो कुनै मोलतोलका लागि कुरा हुँदैछ । तर निधिले विश्वास दिलाए र आफु कसैगरी पछि नहट्ने, त्यसका लागि जेजे गर्नु पर्ने हो त्यो त्यो गर्ने भनी जसरी प्रष्ट पारेका थिए त्यही समयमा त्यो काम सुरुभयो ।

जस्तो उनले त्यसपछिको जुन दिन आफना सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी सम्बन्धमा कुरा राख्ने बताएका थिए त्यही दिन यो कुरा राखे । यो २९ साउनको कुरा हो । निधिको यो उम्मेदवारीको कुनै अर्थ खोजिन्छ भने यो मितिपनि ध्यानमा राख्नुपर्छ । २७ गते उनले आफनो घरमा घोषणा गरे र २९ गते आफना सभापति समक्ष सहयोग मागे ।

सार्वजनिक भएको विवरण अनुसार त्यसदिन उपसभापति निधि सभापति सामु विशेष समय लिएर नै गएका थिए जो जानिफकार अनुसार अरुबेला सामान्यतया यस्तो हुँदैन थियो । आफना सभापतिको निवास वा कार्यकक्षमा जान उनले नै मनोनित गरेका उपसभापतिलाई समय लिइराख्नुपर्ने अवस्था हुँदैन पनि । साथै वताइए अनुसार त्यसदिनको सभापति उपसभापति बीचको यो वार्ता करिब दुई घण्टा चल्यो जसमा तेश्रो व्यक्तिले प्रवेश पाएका थिएनन । अर्थात नेपाली कांग्रेसका यी पहिला र दोस्रा पदाधिकारी बीच यो दिन समय लिएर र दिएर नै चलेको यो विशेष प्रकारको वार्ताको अर्थ पनि विशेष प्रकारकै हुने भयो नै ।

के भयो त यो वार्तामा ? तेस्रो व्यक्ति उपस्थित नभएको हुनाले त्यो सम्वन्धी समाचारमा जस्ता विवरण आए त्यो यी दुइ पदाधिकारी र त्यसमापनि उपसभापति निधिले नै जानकारी गराएको भन्ने बुझनु पर्छ । यस्तो किन पनि भने त्यो वार्ताविवरणले उनको एउटा ‘पोजिसन’ पनि बुझाउछ ।

सञ्चार माध्यममा आए अनुसार त्यसदिन निधिले सभापति समक्ष १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने मनस्थिति बनाएको प्रसंगबाट आफ्ना कुरा अघि बढाएका थिए । प्रतिउत्तरमा देउवाले १४ औं महाधिवेशनमा पनि आफू नै उम्मेदवार बन्ने बताएका थिए । सभापति देउवाले यो १४ औंमा आफुनै उठने र १५औं महाधिवेशनमा चाहि आफनो समूहबाट निधिलाई निर्विकल्प सभापतिको उम्मेदवार भनी अहिले नै लेखेर दिन तयार भएको जानकारी गराएका थिए ।

समाचार विवरणमा थप आए अनुासर–‘देउवाको कुरालाई निधिले सहज रुपमा लिएनन् । प्रतिवाद मिश्रित लयमा उनले १५ औं महाधिवेशनसम्म अर्को पुस्ता सभापतिका लागि तयार भइसक्ने र आफूलाई उमेरले पनि साथ नदिने सुनाए । आफ्ना लागि १४औं महाधिवेशन नै सभापतिको उम्मेदवार बन्ने सबैभन्दा उपयुक्त समय रहेको उनको तर्क राखे । पार्टीलाई मजबुत बनाउन र महाधिवेशनपछि हुने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने दायित्व रहेको सुनाउँदै युवापुस्तालाई एकत्रित गराउन सक्ने उर्जा आफूमा रहेको तर्क देउवालाई सुनाए ।’

उपसभापति निधिले त्यसदिन आफना सभापति देउवा सामु सभापतिकोआफनो उम्मेदवारीलाई समर्थन जनाउन प्रस्ताव गर्दाको वातावरण सहज थिएन । त्यसको पहिलो उदाहरण हो यो वार्तालापको विवरण जसमा देउवाले यो महाधिवेशनमा आफै उम्मेदवार बन्ने र त्यसका लागि निधिले सहयोग गर्नुृपर्ने भन्ने प्रस्ताव राखेका थिए ।

दोस्रोमा निधिले कांग्रेस भित्रका युवा पुस्ताका ठूलै समूहसंग आफना सभापति देउवा पुरै जंगिएका देखेका थिए यही सभापतिको उम्मेदवारका सन्दर्भमा । यो देउवा –निधिको यो भेटको केही अघिको मात्र कुरा हो ।

केही समय अघिमात्रै कांग्रेसका युवापुस्ताका नेताहरुको एउटा समूह सभापति र वरिष्ठनेता समक्ष आफूभन्दा दोस्रो पीढिलाई बाटो खाली गरिदिन अपिल गर्नजाँदा देउवाले त्यो समूहलाई जसरी फडकारे, त्यसलाई निधिले त्यो अरु भन्दा पनि नजिकबाटै हेरेका हुनुपर्छ । त्यो बेला त युवाहरुको प्रतिनिधित्व गर्ने एउटा समूहले नै छाडन भनेको थियो । तर यो बेला निधि एक्लै देउवा समक्ष अफना लागि छाडन भनी यो रुपमा प्रकट भएका अवस्था देखियो ।
निधिको सभापतिमा उम्मेदवारी प्रस्तावको यो बेलासम्मको यो एउटा चरण हुनुपर्छ । (क्रमशः)– ‘सुवेदी’ रिपोर्ट

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।