सप्तरीमा एसइई परीक्षा सञ्चालन हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ । आज बिहिबार बिहान ८ बजेदेखि शुरू भएको विज्ञान विषयको परीक्षा प्रश्नपत्र ७ बजेतिर नै बाहिरिएको हो ।
निकै अमर्यादित ढंगले परीक्षा सञ्चालन भइरहेको सप्तरीमा पठाइएको प्रश्नपत्र इन्टरनेट सञ्जाल फेसबुकमै छ्याप्छ्याप्ती पारिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पाैडेलले परीक्षा शुरू हुनु अगावै प्रश्नपत्र बाहिरिएको घटना स्वीकार गरेका छन् ।
परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटना गम्भीर भएको जनाउँदै अहिले जिल्ला प्रशासनले यसबारे व्यापक अनुसन्धान गरिरहेको छ । बुधबार साँझ नै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपनि त्यसमा सत्यतता नरहेको जिल्ला प्रशासनले जनाएको थियो ।
केन्द्राध्यक्ष नै चिट चोराउन सक्रिय, ६ जना प्रहरी नियन्त्रणमा
यसैबीच मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेत परीक्षा अमर्यादित बनाउन लागि परेपछि प्रहरीले उनीहरूलाई समातेको हो ।
सो विद्यालयको परीक्षा केन्द्रबाट प्रहरीले १ दर्जन मोबाइलसहित ८ जना परीक्षार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई भने बुधबारै रिहा गरिएको छ ।सप्तरीमा यस बर्ष ३३ वटा केन्द्रबाट ८ हजार ६ सय १८ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।




















प्रतिक्रिया