Logo

अनलाइनपाना खोज

युवाले सुरु गरे रुपान्तरण अभियान



समाजमा विद्यमान विभिन्न खालका विभेदहरुका विरुद्ध आवाज उठाउनका निमित्त सामाजिक सञ्जालको माध्यमहरुको सकृय युवाहरुको संगठन रुपान्तरणका लागि युवाहरुको भेलाले सवै खाले विभेदका विरुद्ध सशक्त रुपमा आवाज उठाउने भएको छ ।

आज राजधानीमा आयोजित सो समुहको भेलाले राज्यले नीतिगत रुपमा नै विभेद गरेको र सदियौं देखि उत्पीडनमा परेका समुदायको हितमा बहस पैरवी लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भेलाले जनाएको छ ।

युवा अभियानका संयोजक प्रदिप घतानीको संयोजकत्व रहेको सो भेला संयोजन समितिका सदस्य मेखराज खातीले समाज रुपान्तरणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको वताउनु भएको थियो भने संयोजन समितिका अर्का सदस्य नविन पल्लवले अभियानको औचित्य र भावी कार्यदिशा सम्वन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

विभेदलाई जरैदेखि उन्मुलन गर्ने लक्ष्य लिएको छ । “रुपान्तरणका लागि युवा” अभियानका संयोजक प्रदिप घतानेको संयोजकत्वमा भएको भेलालाई संयोजक समिति सदस्य एबं लेखक मेखराज खाति, संयोजक समितीका सदस्य नविन पल्लव लगायतले प्रशिक्षण दिएका थिए ।

रुपान्तरणका लागि युवा किन ?

जातीय विभेदको यो श्रृंखलाको अन्त्य गर्न सवै उत्पीडित समुदायहरु एक ठाउँमा उभिनु जरुरी छ । मुक्तिका लागि अग्रजहरु द्वारा जेजस्ता प्रयासहरु भए ती सराहनीय छन् यद्यपी अग्रजहरुले नै अंगिकार गरेको वाटोलाई नै पछ्याइरहने हो भने उत्पीडित समुदायले मुक्ति पाउने संभावना रहदैन । तसर्थ आन्दोलनको फरकवाटो पहिल्याउँदै समाजमा उत्पीडित समुदायलाई अन्य नागरिक सरह आत्मा सम्मान र स्वाभीमानका साथ बाँच्नका लागि जागरुक वनाउनुपर्ने आवश्यकता छ ।

जातीय मुक्ति आन्दोलनको स्वरुपमा परिवर्तन गर्नुपर्ने जरुरी छ र सो को नेतृत्व युवाहरुवाट मात्र संभव छ । युवा परिवर्तनको संवाहक हो । जसका लागि आम उत्पीडित समुदायका युवाहरु एक ठाउँमा उभिएर सामाजिक न्यायका लागि विभेदकारी जंजीरलाई चुँडाल्नुपर्ने आवश्यकता महशुस गर्दै रुपान्तरणको लागि युवा समुहको स्थापना गरिएको हो ।

हाम्रा भावी पिढीले पनि विभेदको पीडा खेप्नुनपरोस् । उनीहरुले फेरि जातीय विभेदका विरुद्ध कुनै पनि आन्दोलन गर्नु नपरोस् । विभेदको अन्त हाम्रै पुस्ताले गर्नसक्नु पर्दछ भन्ने आशयका साथ सुरु गरिएको यो युवा समुह नितान्त व्यक्तिगत र राजनैतिक स्वार्थ भन्दा माथि उठेर सरोकारवालाहरु संग हातेमालो गर्दै समाज रुपान्तरणको लागि अघि वढ्नेछ भन्नेमा हामी विश्वास दिलाउन चाहन्छौं ।

भावी योजना

जवसम्म संकीर्ण सोचले जकडिएको नेपाली समाजको मानसिकतामा परिवर्तन हुँदैन तव सम्म आम उत्पीडित समुदायको मुक्ति सम्भव छैन । रुपान्तरणका लागि युवा समुह प्रथमत यस्ता खालको संकीर्ण मानसिकतालाई वदल्न अघि वढ्नेछ । जसका लागि जातीय विभेदको मुल समस्याको पहिचान गर्दै समाधानका उपायहरु खोजिनेछ । योजनावद्ध रुपमा कार्यक्रमहरुको तय गरि राज्यको नीति र समाजको सोच परिवर्तनका लागि विभिन्न वहस पैरवी जस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि वढाइनेछ ।

कार्यक्रमहरु

वर्तमान परिवेशमा जातीय विभेदको मुद्धालाई राज्यको मुद्धा वनाउदैं विभेदको अन्त्यको लागि राज्यका सवै पक्षलाई जिम्मेवार वनाउनु पर्नेछ भन्ने ठम्याइका साथ तपशीलका केहि कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ :
१) सुचना तथा सञ्चार माध्यमहरुको अधिकतम प्रयोग गर्ने :
क) राज्यको मुलधारका सञ्चार माध्यमहरु मार्फत उत्पीडित समुदायका मुद्धाहरुलाई प्राथमिकताका साथ उजागर गर्न र राज्यमाथि विभेदको अन्त्य गर्नको लागि दवाव सिर्जना गनर्का लागि पहल गर्ने ।
ख) सामाजिकसञ्जाल, तथा आफ्नै अनलाइन पोर्टल,रेडियो, टेलिभिजन,पत्रपत्रिकाहरुको व्यापक प्रयोग गरि आम उत्पीडित समुदायलाई सु-सुचित तथा सचेत गराउने ।
२) थर परिवर्तन र वसाई सराईका लागि पहल गर्ने : नाम संगै जोडिएर आउने थरका कारण नै विभेदका खेप्नुपरेको तीतो यर्थाथ छ । यसकारण नागरिकतामा आफुलाई सहज लाग्ने थर परिवर्तनका लागि पहल गर्ने र उत्पीडित समुदायको स्थानान्तरणलाई पनि विशेष जोड दिने ।
३) विभेदका विरुद्ध वहस,पैरवी कार्यक्रम सञ्चालन गर्ने ।
४)जागरण मुलक कार्यक्रमहरु सञ्चालन गरिने ।
५) आत्मनिर्भर वनाउने कार्यक्रमहरुका लागि पहल गर्ने ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार १५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।