Logo

स्वास्थ्य

लोकसेवा पढ्दै गरेकालाई मौका, प्रदेश ५ सरकारले माग्ने भो ठुलो संख्यामा कर्मचारी !



प्रदेश ५ सरकारकाले ल्याएको लोकसेवा आयोग सम्बन्धी विधेयक संसदबाट पास भइसकेको छ, अब केही दिनमै प्रदेश ५ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला हुनेछ ।

‘प्रदेश ५ सरकारलाई झण्डै २ हजारभन्दा बढी कर्मचारी अपुग छन् । ती कर्मचारीहरू भर्नाका लागि साउन महिनासम्म प्रदेश लोकसेवा आयोगले आवदेन माग्ने भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता बैजानाथ चौधरीले जानकारी दिएका छन् ।

कति कर्मचारी चाहिन्छन् ?

प्रदेश नम्बर ५ सरकारलाई काम गर्न मुख्य बाधक कर्मचारी मानिएको छ । अन्य प्रदेशमा पनि यस्तै छ । प्रदेश एक पनि प्रदेश सभामा लोकसेवा विधेयक दर्ता गर्ने तयारी भइरहेको छ । प्रदेश नम्बर ५ सरकारका १ सय ४७ कार्यालयका लागि ४ हजारभन्दा बढी कर्मचारी चाहिन्छन् । त्यसमध्ये अहिले २ हजारभन्दा कम कर्मचारी कार्यरत रहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी बताउँछन् ।

अब कसरी काम हुन्छ ?

जेठ २ गतेबाट प्रदेशको बजेट अधिवेशन सुरु भइसकेको छ, जसका कारण सरकार बजेटको तयारीमा लाग्नुपर्ने भएकाले तत्काल लोकसेवा आयोग गठन र नियमावली निर्माणको काम भने केही दिनपछि धकेलिने पक्का जस्तै छ । सरकारका प्रवक्ता चोधरीले पनि आयोग गठन र नियमावली बनाएर कर्मचारी भर्ना गर्न साउन महिना लाग्ने सङ्केत गरे । ‘हामीले अन्य पनि काम गर्नु छ । अब नियमावली निमार्ण गरेपछि मात्रै प्रदेश लोकसेवा आयोग गठन गरिन्छ । त्यसैले कर्मचारी भर्ना साउनपछि मात्रै हुन्छ होला’ चौधरीले  बताए ।

उनका अनुसार प्रदेशमा कति कर्मचारी चाहिने भन्ने अध्ययन गरेर सङ्घमा पठाउनुपर्ने हुन्छ । ‘हाम्रा कार्यालयको सङ्ख्या बढ्ने भएकाले २ हजारभन्दा बढी कर्मचारी चाहिन सक्छन् । त्यसैअनुसार हामीले गृहकार्य गर्नुपर्ने हुन्छ’ मन्त्री चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।