नेपाल हिमश्रृंखलाले धनी देश हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । सर्वोच्च शिखर सगरमाथाले त नेपाललाई विश्वमा चिनाइरहेकै छ । तर, अन्य सातवटा हिमशिखरको भने खासै चर्चा हुँदैन । ‘टप टेन’ मध्ये नेपालमा रहेका बाँकी ७ वटा उच्च हिमालहरु मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण हुन् ।
सगरमाथा आरोहणमा भीडभाड हुने गरे पनि यी सातवटा हिमशिखरहरु चढ्नलाई भने न्यून संख्यामा विदेशी आरोहीहरु आउने गरेका छन् । आवश्यक प्रचार-प्रसारको अभावले गर्दा यी हिमालमा विदेशी आरोहीको आकर्षण बढ्न नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
सगरमाथा

विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लामा पर्छ । सगरमाताको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नोर्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गर्न सकिन्छ तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण प्रख्यात रहेको छ ।
कञ्चनजंघा

कञ्चनजंघा विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा ब्रिटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए ।
लोत्से

लोत्से विश्वको चौथो अग्लो हिमाल हो । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ ।
मकालु

विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा रहेको यो हिमाल पदयात्राका हिसाबले जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन । पुर्वाधारको हिसावले पनि यो हिमाल निकै पछाडी रहेको छ । पहिलोपटक फ्रेन्चका जे कोजी र एल टेरीले यो हिमाल आरोहण गरेका थिए ।
चोयु

विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ । सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले सो हिमाल आरोहण गरेका थिए ।
धौलागिरी

विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका थिए । यो मनाङ्ग र मुस्ताङ्ग जिल्लामा पर्दछ ।
मनास्लु

मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए ।
अन्नपूर्ण

अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो । यो पदयात्राका लागि विश्वभर प्रख्यात छ । समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए ।
अपी हिमाल

अपी हीमाल प्रदेश नं. ७ को दार्चुला जिल्लामा पर्छ । अपिको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ आषाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यस संरक्षण क्षेत्रको स्थापना गरेको हो । यस हिमालकोे उचाई समुद्री सतहबाट ५३९ देखि ७,१३२ मिटरसम्म छ ।





















प्रतिक्रिया