लोकसेवा आयोगका पक्ष र विपक्षमा परेका सबै रिट निवेदनसर्वोच्च अदालतले एकैसाथ राखेर हेर्ने आदेश गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र डम्मरबहादुर शाहीको संयुक्त इजलासले सर्वोच्चमा परेका सबै रिट निवेदन एकैसाथ राखी निर्णय गर्ने मंगलबार आदेश गरेको हो ।
आयोगका पक्ष र विपक्षमा गरी सर्वोच्चमा ४ वटा निवेदन परेका छन्। सबै निवेदनलाई एकसाथ राखेर आज बुधबार सुनुवाइ हुँदैछ । सर्वत्र चासोको विषय लोकसेवा आयोगको विज्ञापन विरुद्धमा परेको रिट निवेदनमा सर्वोच्चले यसअघि लिखित जवाफ मागेको थियो ।
आयोगले लिखित कारण पेश गरिसकेपछि मंगलबार दोस्रो सुनुवाइ भएको थियो । स्थानीय तहमा चाहिने ९ हजार बढी कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले विज्ञापन खोलेपछि पक्ष र विपक्षमा रिट निवेदन परेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र लोकसेवा आयोगलाई विपक्षी बनाई महोत्तरीका अधिवक्ता विकास ठाकुर र सर्लाहीका जगदेव चौधरीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए । दुवैजनाले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गरेका छन् ।
‘लोकसेवा आयोगले कानुनको गलत अर्थ लगाई सरकारको क्षेत्राधिकार बाहिरको निर्णय गैरकानुनी विज्ञापन गरेकोले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्र समेतका मौलिक हक हनन् गरी संविधानको मर्म र भावनाविपरीत समानुपातिक समावेशी सिद्धान्तको विपरीत हो,’ रिट निवेदकको दाबी छ ।
त्यसैगरी अधिवक्ता राजाराम घिमिरेले लोकसेवाले खोलेको विज्ञापन रद्द गर्न नहुने माग राख्दै आइतबार रिट निवेदन दर्ता गरेका थिए । राज्य व्यवस्था समितिले कानुन मिचेर कानुनी शासनको गम्भीर उल्लंघन गरेको दाबी रिट निवेदकको छ। सर्वोच्चले लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्न निर्देशन दिनुको कारण राज्य व्यवस्था समितिसँग मागेको थियो ।
संविधान, ऐनले नदिएको अधिकार राज्य व्यवस्था समितिले प्रयोग गरेको भन्दै विरुद्धमा परेको रिट निवेदनमाथि सोमवार पहिलो सुनुवाई भएको हो । त्यसैगरी, आयोगको विज्ञापन रोक्न माग गर्दै सोमवार सर्वोच्च अदालतमा देशभरका स्थानीय तहमा कार्यरत अस्थायी करारमा रहेका २ सय १२ जनाले रिट दर्ता गरेका हुन् । चारवटै निवेदनको बुधबार एकैसाथ सुनुवाइ भएपछि आयोगको विज्ञापनका विषयमा निर्णय हुनेछ ।
यो पनि पढ्नुहोस्
लोकसेवा आयोगको फर्म भर्ने म्याद थपियो
स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् ।
सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने छ जानकारी आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदकाअनुसारले जानकारी दिए ।
लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ । तर यो विज्ञापन समावेशी नभएको भन्दै बिरोध भइरहेको छ ।




















प्रतिक्रिया