निधारमा रातो टीका । काँधमा भारी झोला, अनि मनमा निराशा । कैलालीको गोदावरी नगरपालिका–१२ का मनोज विक यही नियति दोहोर्याउँदै रोजगारीका लागि भारत जाँदै थिए । धनगढीको त्रिनगर नाकामा भेटिएका उनी दशै, तिहारको बिदा सकेर रमजदुरी गर्न भारत फर्किदै थिए ।
वर्षभरि भारतमा काम गरेर परिवार धानिरहेका मनोज दशैं–तिहारका बेला मात्रै घर फर्किन्छन् । उनले यो नियति भोगेको धेरै नै भएको छ । आफ्नै देशभित्र मजदुरी गर्न उनलाई कम्ती मन छैन, तर नियतिले उनलाई छाडेको भने होइन । मंसिर महिना अन्नबाली भित्र्याउन व्यस्त रहने मौसम हो । तर यहाँका युवाहरु दैनिकी टार्न अर्काको देश भासिँदैछन् ।
‘काम त आफ्नै देशमा गर्न मन छ नि । तर, सरकारले बेवास्ता गर्दा रोजगारीकै लागि भारत जानुको विकल्प रहेन’ उनले भने, ‘परिवार पाल्नका लागि बाध्यतामा परेर भारत जाने नेपाली म जस्ता धेरै छन् ।’ अर्काको देशमा पसिना बगाउनु पर्दा उनलाई निकै नमिठो लागिरहेको छ ।
देशमा संघियता आएपछि स्वदेशमै रोजगारी पाइने आशा उनीजस्तै थुप्रैले बोकेका थिए । संघीयता आएर देशमा तीन तहको सरकार गठन भएपनि रोजगारको कुनै छनक उनले देख्न सकेनन् । देखे त केवल पहुँचवाला र दलालहरुको रफाव र हालीमुहाली ।
‘चुनावमा नेताहरुले मलाई जिताए गाउँमै कामको हुन्छ, दुःख हट्छ भनेर । तर अहिलेसम्म कसैले पनि भारतको मजदुरी यात्रा छाड्न पाएका छैनन् । नेपालमा काम पाउन त पावर र पैसा चाहिने पो चाहिने रहेछ, आफूसँग दुवै कुरा नभएपछि भारत जानुको विकल्प नै रहेन’ उनलेभने, ‘नेताका मीठा भाषणले मात्र पेट पालिने कुरा आएन । भाषण र गफ सुनेरै वाक्क लागिसक्यो । पुरानै ठाउँतिर फर्किएँ ।’
दसैं तिहार मनाएपछि उनीहरु पहिलेकै ठाउँतिर गएर ज्यालादारी, मजदुरी गर्छन् । चाडवाड मनाउन घर आएको बेला उनीहरु करिब महिना दिनजति घरपरिवारसँग बिताउँछन् । बिदा अवधि सकेपछि उनीहरु रोजगारीका लागि भारततर्फ भासिन्छन् । तस्बीरमा देखिएका लस्कर यसैका निरन्तरता हुन् ।

वर्षको मात्र नभई जीवनकै धेरैजसो समय भारतमै बित्छन् उनीहरुका । ‘हामीजस्ताका लागि घर पनि माइतीघर जस्तै भइसकेको छ । भारतमा बढी समय बिताइन्छ, परिवारसाथ नेपालमा थोरै समय मात्र हुन्छौं’ भारतको गुजरातमा काम गर्दै आएका जगदीश बलायरले भने । मजदुरी गर्दै सन्तान र परिवारको जीवन धान्दै आइरहेका बलायरको पाँच जनाको परिवार छ । ‘श्रीमती र ती केटाकेटी छन् । नेपालमा बसेर उनीहरुको शिक्षा, पालनपोषण पुर्याउन गाह्रो छ’ बलायरले भने ।
हिजोआज कैलालीको त्रिनगरनाका, कञ्चनपुरको गड्डाचौकी नाका र बैतडीको झुलाघाट नाकामा यसैगरी रोजगारीका लागि भारत जानेहरुको लर्को नै लागेको छ । पर्वको रमाइलो सकिएपछि कर्मथालो जान लागेका नेपाली कामदारहरु अर्काको देशमा काम गर्दा पाइने पीडादलाई शब्दमा व्यक्त गर्न मान्दैनन् । किनकि अर्काको देशमा काम गर्नेहरुलाई राम्रो व्यवहार त्यो देशले गर्दैनन् भन्ने विषयसँग उनीहरु परिचित छन् । त्यसैले कठिनाईको वर्णन गर्नु आफैंलाई प्रहार जस्तो ठान्दारहेछन् उनीहरु ।

‘सानो काम बिग्रेपछि धेरै गाली खानुपर्छ । अर्काको देश, केहि भन्न पनि सकिँदैन्, दमित भएर बस्नु सिवाय उपाय नै हुँदैन’ कामकै लागि भारत जाँदै गरेका बुढीतोलाका भरतबहादुर खत्रीले भने ।
बिरामी पर्दा समेत बिदा नपाइने र उपचारको व्यवस्था नहुने अवस्थाबाट उनीहरु गुज्रिरहेका हुन्छन् । ‘बिरामी हुँदा पनि परिवारको साथ पाइँदैन् । घरभन्दा टाढा अर्काको देशमा काम गर्न धेरै गाह्रो छ । स्वदेशमै रोजगारी मिले को जान्थे भारत’ उनी भन्छन् ।
घरपरिवार चलाउन र सन्तानको शिक्षादिक्षाकै निम्ति काम खोज्न भारत जानुपर्ने विवशता सूदूरपश्चिम प्रदेशका नागरिकका लागि अनिवार्यता जस्तै बनेको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भारत जाने कामदारहरुको संख्या निकै बढी देखिन्छ । पढेलेखेका युवाहरुपनि स्वदेशमै राम्रो रोजगारी नपाएपछि भारत जान बाध्य छन् । रोजगारीका लागि गाउँका सबै युवाहरु भारत पलायन भएपछि पहाडी जिल्लाका कतिपय गाउँहरु युवाविहीन छन् । गाह्रोसारो पर्दा गतिलो साथ पाउँदैनन् बुढापाका असहाय वर्गले ।

शिक्षित श्रेणीमा गनिने डोटीका नवराज खत्री देशभित्र रोजगारी नपाएपछि भारत जानु परेको बाध्यता सुनाए । ‘गाउँमै रोजगारी पाएको भए यही पसिना बगाएर घरपरिवारसँगै बस्थेँ । तर सरकारले कहिल्यै रोजगारी सृजनाबारे सोचेन’ खत्रीले भने ।
वर्षभरि परिवारबाट टाढा बसेर महिना दिन मात्र पनि घर आउन पाउँदा फुरुङ्ग देखिएका उनी जहिल्यै भारत फर्किनु पर्दाको कुरा राख्दै गर्दाभने उनमा बेखुशी प्रष्टैसँग देख्न सकिन्थ्यो । ‘घर आउने समय आएपछि मन साह्रै खुसी हुन्छ । भारत फर्किनुपर्ने दिन नजिकिएपछि साह्रै न्यास्रो लाग्छ’ उनी भन्छन् । लामो समय विदेश बसेर गाउँ फर्किँदा पनि उनले स्थानीय तहमा देखिएको दादागिरी र दलालीमा कमी नभई बढवा भएको पाए । त्यसकारण पनि उनीज स्ता थुप्रैले गाउँमा बस्न मिच मारेका हुन् ।

‘नेताकै नजिकका मान्छे र नातागोताकाले रोजगारी पाएको देखिन्छ । हामीले पाउने भनेको उही चुनावको बेला झुठा आश्वासन मात्रै रहेछन’ उनले भने ‘देशमा जनताको लागि संघीयता कहिल्यै आउने देखिएन, उतै फर्कौं भनेर हिँडेको ।’ स्थानीय तहको गतिविधि र योजनामा उनले दलाल र भ्रष्टचारीको तजबिजी नै बढी देखे । आशा भन्दा बढी निराश नै सर्वसाधारणमा बढी पाए ।
भारतको गुजरातमा रोजगारीका लागि हिँडेका झापाका दिपक श्रेष्ठको अवस्था उस्तै छ । नेपालमा बसेर रोजगारी गर्न मन हुदाहुदै पनि विदेशिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘के पूर्व, के पश्चिम । गरिबका सन्तानको अवस्था जहाँ पनि उस्तै हो’ उनी भन्छन्, ‘देशमा रोजगारी पाउने आशा कहिल्यै पूरा नहुने भयो ।’ प्लस टू अध्ययन सकेर रोजगारीका लागि भारत छिर्दैछन् । देशकै दुरावस्ता देखेका उनले तत्काल पेट पाल्ने उपाय विदेशकै मजदुरीलाई देखेका छन् उनले । देशभित्रै काम पाइन्छ कि भनेर धेरैतिर नधाएका होइनन् तर उपाय लागेन र भारतकै बाटो रोजे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफु मुख्यमन्त्री बनेलगत्तै एउटा प्रतिवद्धता जनाएका थिए । प्रदेशमै पर्याप्त मात्रामा रोजगारीको अवसर सृजना गर्ने र कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्यलाई पहिलो नम्बरमा राखेर गर्छु भनेर । मुख्यमन्त्री बनेकै दुई वर्ष बित्न लागिसक्यो, तैपनि अन्त्य परैजाओस् शुरुवात् समेत गर्न सकेका छैनन् । अहिले बेरोजगारीले ग्रष्त छ सुदुरपश्चिम प्रदेश ।
अतः नेताले जतिसुकै विकास र समृद्धिका भाषण गरेपनि यहाँका विकास र समृद्धिका मुख्य आधारशीला श्रमशक्ति विदेश पलायन भएकोभयै छ । युवा शक्ति काँधमा कपडा र दुःखको ठूलो झोला भिरेर परिवारसहित श्रम गर्न भारत गइरहेकै छन् । गाउँघरमा अभाव, समस्या र महंगीले सीमा नाघिरहकै छन् । युवाशक्ति गाउँघरबाट रित्तिएकै छन् ।
तस्बीर: निर्मला खडायत





















प्रतिक्रिया