Logo

विचार / ब्लग

कसैलेले चाहेपनि नचाहेपनि राजसंस्था पुनर्स्थापित हुन्छ



पछिल्लो राजनैतिक घटनाक्रमले देशमा जतिखेर जे पनि हुनसक्ने संकेत देखापरेको छ । २०४६ सालको परिवर्तन पछि २०७२ सालको संविधान निर्माणसम्म आइपुग्दा नेपाली जनतालाई जे भनियो र जे गर्छु भनेर राजनैतिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरे । तर राजनैतिक दलहरूको व्यवहार ठिक विपरीत दिशामा बढिरहेको छ ।

नेपाली कांग्रेसले प्रतिपादन गरेको सिद्धान्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’, तत्कालीन नेकपा (एमाले) ले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन माओवादीले जुन प्रतिबद्धताका साथ सुरु गरेको सशस्त्र द्वन्द्व र अहिलेका व्यवहार हेर्ने हो भने आकाश जमिनको अन्तर छ । नेपालको राजनीतिको मुलधारमा रहेका भनिएका दलहरूको कार्यशैली बाट उनिहरूकै कार्यकर्ता त सन्तुष्ट छैनन् भने आम जनताको कुरा त अलग भयो ।

आफूलाई माओका सच्चा उत्ताराधिकारी दावी गर्ने तत्कालीन माओवादीहरू नै माओकै भनाइ अनुसार जनताको सियो धागो समेत सित्तैमा नलेउ भन्ने सिद्धान्त बिर्सदैं उनिहरू नै आज सबैभन्दा बढी संस्थागत भ्रष्टाचारमा लिप्त छन् भने आम जनताले के अपेक्षा गर्ने ?

तत्कालीन राजनीतिक परिवेशमा भारतको राजधानी दिल्लीमा १२ बुँदे समझदारी गरेर नेपालका राजनैतिक दलहरू स्वदेश फिर्ता भए । १२ बुँदे समझदारीमा राजसंस्थाको अन्त्य भनिएको थिएन । त्यसको सट्टामा प्रतिगमनको अन्त्य र विघटित प्रतिनिधिसभाको पुनर्स्थापना भनिएको थियो । तत्कालीन सात राजनीतिक दलको मार्गचित्र बमोजिम नै राजाद्वारा संसद पुनर्स्थापना गराइएको हो भन्नेमा कुनै दुविधा छैन् ।

तर राजनीतिक दलहरूले धोकाधडी मार्फत राजसंस्थालाई धोका दिने काम गरे । त्यसैको फलस्वरूप देश अस्थिरता र अन्योलको भुमरीमा फसेको छ । आज दुई तिहाईको जनमत प्राप्त भनिएको सरकार गतिहीन अवस्थामा छ भने दुईबर्षका सरकारका उपलब्धि हेर्ने हो भने हत्या-हिंसाको बढोत्तरी र भ्रष्टाचार बाहेक केहि देखिंदैन । सरकारका प्रभावशाली मन्त्रीहरू करोडौंको कमिसन डिल गर्दै गरेको अडियो सार्वजनिक हुन्छ । यसमा नत प्रधानमन्त्री नै केही बोल्न आवश्यक ठान्छन् नत आम जनतालाई नै सत्यतथ्य सार्वजनिक हुने विश्वास नै छ ।
अर्कोतिर राजनैतिक दलहरूको प्राथमिकतामा सुशासन परेन । उल्टो कुसाशन, क्षेत्रीय सुरक्षा र परराष्ट्र नितिमा समेत असफल देखियो । छिमेकी राष्ट्रहरू प्रति पनि विश्वासको वातावरण बनाउन असफल सिद्ध भयो भने देशभित्र पनि जनताको विश्वास गुमाउदैं गएको अवस्था देखियो ।

पछिल्लो घटनाक्रमलाई नै नियाल्ने हो भनेपनि सत्तारूढ नेकपाकै शक्तिशाली भनिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै पूर्व कार्यकर्ताले सार्वजनिक कार्यक्रमै ‘जुत्ता प्रहार’ गर्ने अवस्था आउनुलाई कदापि दलहरूको सफलता मान्न नसकिएला । अब देश जोगाउनको लागि आधुनिक र परम्परागत शक्ति नमिल्ने हो भने यो कुरा अहिलेका मुलधारका राजनैतिक दलहरूलाई नै घातक हुने निश्चित छ ।

हामीले चाहे पनि वा नचाहेपनि देशमा राजसंस्थाको पुनर्स्थापना हुनेमा दुई मत छैन । राजनीतिक दलहरूले राजसंस्था र जनतालाई धोका दिएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । अब समय छँदै आफ्नो घमण्ड र इगोलाई त्यागी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र कसरी बलियो हुन्छ भन्ने कुरा अहिलेका राजनीतिक दलका नेता र कार्यकर्ताहरूले बुझ्न आवश्यक छ । घमण्ड र इगोले कसैलाई फाइदा गर्दैन ।

त्यसकारण स्वतन्त्र नागरिक समाज, सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मी, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व, दाजुभाइ, दिदी बहिनीहरूलाई गहिरोसँग मनन गरिदिनु हुन हार्दिक अपिल गर्दछौं । २१ औं शताब्दीको राजसंस्था सहितको प्रजातन्त्र आजको आवश्यकता हो ।

संयोजक, स्वतन्त्र नागरिक समाज

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।