वसन्त ॠतुको आगमन सँगै बोट विरुवामा पालुवा पलाएझैं नेपालको दशकौंको राजनीतिक परिस्थिति परिवर्तन र उथलपुथलको संकेत देखिएको छ । विगतको लामो अनुभवलाई विश्लेषण गरेर ॠतु परिवर्तन जस्तै युग परिवर्तनको चक्रमा हेर्ने हो भने सत्य, त्रेता, द्वापर र कलियुग भने झैं नेपालको राजनीति इतिहासमा राणा, निर्दलिय पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै अहिले आएर हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म हामीले भोग्ने र बेहोर्ने काम गरिसकेका छौं ।
अब हामीले यी सबै कुराको आत्मसमिक्षा र मुल्यांकन गर्ने बेला आएको छ । जस्तै हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्यौं र के गुमायौं । अब देशका सबै राजनीतिक पार्टी, बौद्धिक जगत, पत्रकार लगायत नेपाली दाजुभाइ – दिदीबहिनीहरूले पनि समिक्षा गर्ने बेला आएको छ । संसार पहिचान बिना अस्तित्वमा हुन्छ जस्तो लाग्दैन ।
विश्वमा १५७ राष्ट्रहरू इशाई छन् । त्यसको संरक्षण बेलायती महारानी, पोप र नर्वेका राजा लगायत इशाई बाहुल्य मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरू रहन्छन् । ३७ वटा मुस्लिम मुलुकहरू छन् । धार्मिक स्थलको रूपमा मक्का मदिनालाई मानिन्छ भने त्यसका संरक्षक पनि राजा नै छन् । त्यस्तै ७ वटा बुद्धधर्म मान्ने मुलुकहरू छन् , त्यसको संरक्षक पनि थाइल्यान्ड, जापान र भुटानका राजा नै मानिन्छन् ।
त्यसैगरी विश्वभर छरिएर रहेका हिन्दूहरूका आस्थाका केन्द्र मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, लुम्बिनी, गोरखनाथ, मच्छिन्द्रनाथ र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको हिमालयको देश, सालिग्राम पाइने कालीगण्डकी जस्ता पवित्र नदि भएको यस पवित्र भूमिमा त्यसको अस्तित्व जिवित राख्न हिन्दूअधिराज्य हुनुपर्ने र मुलुक एकीकरणमा गरेको योगदानको खातिर शाह वंशिय राजसंस्था यसको संरक्षक हुन आवश्यक छ ।
यसलाई हामीले विलम्ब नगरिकन व्यक्तिगत भन्दा राष्ट्रिय स्वार्थलाई आत्मसात गर्न राजनीतिक आवश्यक छ । यसलाई अहिलेका मुलधारमा रहेका पार्टीहरूले पनि आत्मसात गरुन् भन्ने स्वतन्त्र नागरिक समाजको आग्रह हो । युग परिवर्तन भएपनि राष्ट्रियता, अखण्डता र कुलधर्म परिवर्तन गर्न सकिन्न । जस्तै विज्ञानले प्रतिपादन गरेका आधुनिक विकास निर्माण गरिरहँदा परिवर्तन सँगसँगै परम्परालाई पनि सँगै लैजानु बुद्धिमानी हुन्छ ।
अब परिवर्तनको संकेत देखिएको छ । यसमा फेरि निशेधको राजनीति नहोस्, प्रजातन्त्रको विकल्प केवल प्रजातन्त्र नै हो । हामीले जनताको बालिग मताधिकारलाई बेवास्ता गर्न सक्दैनौं । यो भनिरहँदा जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकार, मानवअधिकार, बाल अधिकार, न्यायीक अधिकार, स्वास्थ शिक्षा जस्ता विषय सर्वसुलभ हुनु पर्छ । २१ औं शताब्दीको आवश्यकता हो । हिजो हामीले निशेध र इगोले गर्दा आज हामी अरु विकसित राष्ट्रहरुभन्दा पछि पर्नुको मुल कारण पनि यहि हो ।
स्वतन्त्र नागरिक समाज





















प्रतिक्रिया