विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सुरु भएको छ । अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिन सुरु गरिएको सरकारी अधिकारीले बताएका छन् ।
अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको हो । सियाटलमा रहेको वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण सुरु भएको हो । कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।
कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनिन् । विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धान गरिरहेका छन् ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ । परीक्षण गर्न लागिएको खोपलाई mRNA-1273 को नाम दिइएको छ ।
















प्रतिक्रिया