कोरोना संक्रमण न्यूनीकरणको लागि सरकारले अहिले चालेको कदम सराहनीय भएपनि ती कदम अपर्याप्त रहेको युवा व्यवसायी रमेश सिलवालले टिप्पणी गरेका छन् ।
सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’ नेपाली जनताको अपवाद बाहेक अभूतपूर्व जनसमर्थन प्राप्त गरेपनि सर्वसाधारणहरूलाई लकडाउन, आइसोलेसन र क्वारेन्टाइन जस्ता नियमहरू पालना गर्न त्यति सजिलो नरहेको उनको भनाइ छ ।
उद्योग, व्यापार तथा लगभग सम्पूर्ण आर्थिक क्षेत्रसमेत अस्तव्यस्त छ । ‘लकडाउन’को सबैभन्दा बढी मारमा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने समुदाय परेका छन् । ‘लकडाउन’ले गर्दा दैनिक मजदुरी समेत गुमाएका समुदायका मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने स्थिति आउने खतरा देखिएको छ ।
‘लकडाउन’ को अवधि अर्को सातासम्म लम्ब्याउने तयारी हुँदै गर्दा समाजका त्यस्ता व्यक्ति वा समूहलाई राज्यले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारले मिलेर गरिब राहत कोष बाट कम्तीमा एक देखि दुईलाख सम्मको अल्पकालीन ॠण भएपनि उपलब्ध गराउनु अहिले सरकारको प्रमुख दायित्व हो ।
यस्तो कोषको परिचालन सम्बन्धित स्थानीय तहको संयोजनमा पालिका वा वडा कार्यलहरूबाट वितरण गर्ने व्यवस्था गर्न सकिन्छ । यसको अर्को फाइदा भनेको विभिन्न सरकारी सेवा सुविधाका लागि स्थानीय तहमा सम्पर्क भैरहने हुँदा पनि उनिहरूबाट उक्त ॠण फिर्ता लिन सजिलो हुन्छ भने कामको सबै भार संघीय सरकारलाई मात्रै पनि पर्दैन ।
यदि यस्तो गर्न सकिएन भने बाध्यताले अधैर्य भएका मानिसले सरकारले लागू गर्न खोजेका नियम कानुन पालना गरिरन्छन भन्ने सोच्नु भने अर्को मुर्खता मात्रै हुनेछ । कुनै पनि संक्रमणले गरिबलाई मात्रै संक्रमण नगर्ने भएपनि सबैभन्दा मारमा पर्ने भन्ने उनिहरू नै हुन् तसर्थ सरकारले समाजको यो वर्गलाई कुनै न कुनै हिसाबले राहत तथा परिपुरणको व्यवस्था गर्नैपर्छ ।
कोरोना संक्रमणको लागि सरकारले अगाडि बढाएका अहिलेसम्मका योजना सराहनिय भएपनि पर्याप्त नभएको हुँदा सरकारको जिम्मेवार तहमा आसिन व्यक्तिहरूले आफ्नो उच्चतम व्यवस्थापकिय कौशललाई प्रयोग गरि अहिलेको संकटको समयमा नागरिक र सरकार सँगसँगै हातेमालो गरेर अगाडि जानसक्ने परिस्थितिको निर्माण गर्नु सरकारको दायित्व हो ।




















प्रतिक्रिया