Logo

प्रदेश

किशोरीमाथि सामूहिक बलात्कार, चार पक्राउ



कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गौरीगंगा–१ चनौराबाट आफ्नो घर धनगढी उपमहानगरपालिकाको भादागाउँ फर्कने क्रममा राति साढे १२ बजे किशोरीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले बलात्कारमा संलग्न रहेको अभियोगमा गौरीगंगा नगरपालिका–४ का नरेश नेपाली, निर्मल चौधरी, नरेश भट्ट र अर्जुन सावदलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले अभियुक्तलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

चनौराबाट भादा जाने क्रममा राजिपुर–भादा भित्री सडकअन्तर्गत गौरीगंगा नगरपालिका–१ को खुरखुरियानजिक किशोरी बलात्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । चारजनाको समूहले उनीसँगै रहेका आफन्त तीनजनालाई कुटपिट गर्दै बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरी, भतिजा नाता पर्ने २१ वर्षीय युवा, फुपू र दिदीसँगै चनौराबाट मोटरसाइकल र स्कुटीमा भादा फर्किरहेका थिए ।

मोटरसाइकलमा आएका चारजनाको समूहले उनीहरूलाई ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको र त्यसक्रममा युवतीसँगका अन्य तीनजनालाई कुटपिट गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । विवादका क्रममा तीनैजना भागेका र एक्लै छुटेकी किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।