कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि भन्दै सावधानी स्वरुप लागु गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेपनि सरकारले औपचारिक घोषणा नगर्दै राजधानी उपत्यका सहित देशभर चहलपहल बढेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले गत वर्षको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको हो । लकडाउन सुरु भएपछि ८० दिनपछि लकडाउन खुकुलो पारिएको हो ।
सुरक्षात्मक उपाय अपनाएर बजार खोल्न दिने र काठमाडौ उपत्यकासहित कम जोखिमयुक्त क्षेत्रमा जोर बिजोर प्रणालीका आधारमा निजि सवारी साधन चल्न दिने निर्णय गरेको हो । सो निर्णय औपचारिक घोषणापछि मात्रै कार्यान्वयन हुने बताएपनि औपचारिक घोषणा नहुँदै लकडाउन खुकुलो भैसकेको छ । सडकमा खटिएका सुरक्षाकर्मीले चेकजाँच फाट्टफुट्ट मात्रै गरेका छन् ।
नियमअनुसार आज बिजोर अंकका सवारी चल्नुपर्ने भएपनि जोर बिजोर दुबै नम्बरका निजि सवारी सडकमा गुडेका छन् । सरकारले बिहीबार थप छलफल गरेर लकडाउन खुकुलो बनाउने सम्बन्धी निर्णयहरुको औपचारिक घोषणा गर्ने तयारी थालेको हो। सरकारले बिहीबार निर्णयहरु औपचारिक रुपमा घोषणा गरेपछि व्यवहारिक रुपमा लकडाउन खुकुलो हुनेछ ।
लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न दिइने छैन । जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्ले बुधबार राति गरेको हो ।
जोर अंक नम्बर भएको सवारी साधन जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन हुने छन् ।
निजीसहितका सबै निर्माण कार्य, विकास आयोजना तथा सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बाहेक) पार्टी प्यालेस, सिनेमा हल बाहेकका व्यापार–व्यवास तथा पसलहरु खुला गर्न दिने सरकारी तयारी छ । रेस्टुरेन्टहरुबाट प्याकिङ्ग सेवा सञ्चालन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सरकारले बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सहज पार्ने जानकारी दिएका थिए ।




















प्रतिक्रिया