Logo

विचार / ब्लग

नारीको इज्जत गर्न नसक्ने पुरुषवादी चिन्तन !



“नो मिन्स नो” नै हुन्छ भन्ने कुरा बुझ्न हाम्रो समाजलाई अझ कयौं वर्ष लाग्ने छ । सायद युग नै लाग्छ कि जस्तो लाग्छ । म कहिलेकाहीँ सोच्छु हामीले गर्ने कुरा र हामीले देखाउने व्यवहार कति फरक हुन्छ। अरुको त के कुरा हिजो अस्ति मात्र बजारमा आएको सोफिया थापाको गीतमाथी जुनको खालको टिकाटिप्पणी भयो प्रतिक्रिया आयो, यसले हामी सबैलाई सोच्न बाध्य बनायो अझ भनौ एक किसिमको गम्भिर बहसको माहोल नै छायो। जसलाई बचाउ गर्नको लागि पक्ष विपक्ष नै खडा भयो।अझ पनि बचाउ पक्षहरु बचाउका लागि आवाज उठाउदै छन्, अनि आलोचक पक्षलाई आलोचना गरेर पुगेको छैन। एकछिन गम्भिर सोचौ त के यो यति धेरै रोइलो गर्नु पर्ने विषय हो त ? अनि एउटा सामान्य गीतमा यति धेरै रोइलो किन ? के अब नाइँ भन्नै नपाइने हो त ! हामीले कस्तो खालको स्वतन्त्रतालाई आत्मसात गरिरहेका रहेछौ त भन्ने कुराको सवाल उठ्दैछ। समाज कसरी विकास हुँदै रहेछ।समाजमा कस्तो खालको ट्रेन बस्दै रहेछ त यी कुराहरु एकाएक गरेर छर्लङ्ग हुँदै छन् अब, जसलाई गम्भीर भएर सोच्नु हामि सबैका लागि अपरिहार्य भएको छ।

धर्म कै कुरा गर्यौं भने धर्मले जहिले पनि सहिष्णुता सिकाउँछ। अनुशासन र मानव कल्याणको कुरा गर्छ। मैले कहिल्यै कुनै धर्म ग्रन्थमा भेटेकी छैन कि कुनै एउटा कुरामात्र सर्वमान्य हुन्छ भनेर धर्मले सबैलाई बराबरी छौ, हौ र रहने छौ भन्ने सिकाएको छ। हो हिजोका दिनहरुमा अशिक्षा, गरिबी व्याप्त थियो स्रोत साधनको पहुँच थिएन । मान्छेहरु सहि गलतको मझधारमा थिए।आज समाज परिवर्तित छ, मान्छेहरु आफ्नो स्वस्थ जीवन र सभ्य समाजको विषयमा गम्भिर भएर लगनका साथ सोचिरहेका छन्। भने तीजको व्रत बस्दिन, खुट्टा धोएर पानी खादिन भन्नु कुन गलत कुरा हो, कहाँनेर धर्मको बेइज्जत गर्नु हो, कहाँनेर धर्मलाई खलल पुर्‍याउनु हो। यो कुरा मैले कयौं पटक सोच्दा पनि बुझ्न सकिरहेकि छैन।

मानव जगतकै सबै भन्दा सभ्य प्राणी हो। समाजमा सभ्य प्राणी बस्छन् भनेर बारम्वार हामीलाई बच्चादेखि नै पढाइन्छ । अझ भनौ रट्टा गर्न नै लगाइन्छ। के त्यसो भए हामीले यो कुरा पढ्नलाई मात्र पढेयौ त ? व्यवहारमा लागि गर्नु पर्ने कुनै आवश्यक नै छैन त ? यदी मान्छे साँच्चिकै सभ्य प्राणी हो भने किन यस्ता सामान्य विषयमा पनि अरुको अस्तित्वमा नै खलहल हुने गरि हमला गर्न पुग्छ र सभ्यताका सारा बाँध फुटाइदिन्छ। अचम्म लाग्छ धर्मको खोल ओडेर कोहि कसरी यति घटिया बन्न सक्छ। यति नराम्रो गर्न सक्छ। “धर्मको पुजारी हुँ” भन्नेले, “धर्मको रक्षक हु” भनेर दावा गर्नेले के एउटी नारीको इज्जत गर्नु पर्दन कि धर्ममा नारीको इज्जत पनि गर्नु हुँदैन भनेर लेखेको छ। नारीको इज्जत समस्त सृष्टिको इज्जत हो भनेर कहिले बुझ्छन् होला धर्मको रखवाली गर्नेहरुले।

धर्म संस्कृतको कुरा एकातिर राखेर एकदमै सामान्य भएर सोचौ कहाँनेर धर्मको विरोध गरेको छ सोफियाको गीतले। आफूलाई के सहि लाग्छ। के गलत लाग्छ त्यो आफ्नो कुरा हो।“म यसो गर्दिन” भन्न मज्जाले पाइन्छ र त्यो कुरा अरुलाई मन परे अरुले पनि फलो गर्न मज्जाले पाउँछन्। रह्यो मन नपर्नेहरुको कुरा मन नपराउन पनि पाइन्छ । तर मन परेन भन्दैमा कसैको सोच माथी नै प्रतिबन्ध लगाउनु कहाँको न्याय हो। यसै त देशमा न्याय हराएको झै भएको छ, न्याय मरेको झै भएको छ । अझ हाम्रो छुद्रो र असभ्य व्यवहारले न्यायको इज्जतको तमासा बनाउन कति उचित होला यस तर्फ किन सोच्दैनन् मान्छेहरु।

अझ हाम्रो समाजका मान्छेहरू डबल स्ट्यान्डर्डको कुरा गर्न कत्ति पछि हट्दैनन्।चोकमा होस या चिया पसल वा चौतारी गफमा बसेर आनन्दले लैगिंक समानताका ठूला ठूला कुरा गर्छन् । धर्मको जयजयकार गर्छन् । जब यही कुरा वास्तविकतामा निभाउनु पर्ने समय आउँछ अनि सुरु हुन्छ “धर्मले यसो गर्नु हुदैन भन्छन । उसो गर्नु हुदैन भन्छन ।” धर्म कै नाममा मान्छेलाई गिराउने खेल बढो आन्नदले खेलिन्छ अनि तालि पिट्दै आन्नद लिन थाल्छन्।के यो सब पनि धर्मले गर भन्छ त ? धर्मले केही राम्रा कुरा पनि गर्नुपर्छ भनेको होला यसतर्फ मान्छेहरुको समाजको ध्यान किन जादैन।खै यस्ता कुरालाई मान्छेले अनुशरण गरेको। आदर्शवादीहरु व्यवहारवादी नहुँदा नारी हक हितका खोक्रा र आडम्बर भाषण दिनेहरुबाट परिवर्तन होला भन्ने आश विल्कुल नराखे हुन्छ ।

तीजमा व्रत बस्नु,नबस्नु आफ्नो मनको कुरा होला तर खुट्टा धोएर पानी खानु सहि होइन।धर्मको नाममा हुने कु-संस्कार र कुरितिलाई परिस्कृत गर्दै जानू आवश्यक छ । आउँदो पिडिहरु यस्ता कुसंस्कार र कुरीतिका सिकार नबनुन त्यो हाम्रो आजका पुस्ताको जिम्मेवारी हो। रह्यो चुरा पोते र सोह्र शृङ्गारको कुरा। पहिलो कुरा महिलाहरु यसै त दास बनाइन्छन् र दोस्रो दुखको कुरा महिलाहरु दास बनेको पत्तो पाउदैनन् ।

यसै त सदियौ देखि धर्मको नाममा दास बनिरहेका छन् महिलाहरू, अर्कोतिर पूँजीले महिलाहरुलाई यसरी गलाउँदै लगेको छ कि यसको चङ्गुलमा जकेटिएका महिलाहरु चाहेर पनि यसको पन्जाबाट फुत्किन सकिरहेका छैनन्। त्यसैले हामी महिला आफूले पनि आँखा उघार्न जरुरी छ। चिहाएर र यो पूँजीपतीको बजार बुझ्न आवश्यक छ, धर्मको भारीलाई एकातिर राखेर सोच्न जरुरी छ कि हामी कहाँ कति र कसरी प्रयोग भइरहेका छौ भनेर । आफूलाई यो सबैबाट बाहिर निकाल्न हामी आफैले कम्मर कसेर लाग्नु जरुरी छ । किन कि यहाँ कोहि हाम्रो मसिया छैन न शुभचिन्तक नै छन् हाम्रो।छ न् त केवल हाम्रो लागि कदम कदममा जाल फिजाउनेहरु,सर्प झै डस्नेहरु।त्यसैले फेरि पनी सोफियाका यी शब्दलाई आत्मसात गर्दैः

अबको तीज, नो व्रत प्लिज नो खुट्टाको पानी
रङ्गीबिरङ्गी चुरा र साडी, गहनाको भारी
गुडियाजस्तै सजिएर नखाने दर हामी’
आफूलाई मन नमरेको कुरालाई नो भन्न सक्नु पर्छ।र कुनै धर्मका रखवालाहरु यो अधिकार छैन कि कसैको स्वतन्त्रता माथी नै बन्देज लगाउन। अब खबरदार ! “नो” शब्दका विरोधिहरु किनकि नो शब्द को अभ्यास सुरु भइसकेको छ र आगामिक दिनहरु यो शब्दको अभ्यास अझ बढी हुनेछ।

जब सम्म समाजमा नारीको इज्जत गर्न नसक्ने पुरुषवादी चिन्तन रहिरहन्छ तब सम्म समानता र समताका कुरा व्यर्थ हुने गर्छन । सुन्दर परिवार,समाज र राष्ट्रकाो परिकल्पना गर्ने हो भने नारी शिक्षा अपरिहार्य छ । नारी सचेतना,सशक्तिकरणका साथै राज्यका हरेक निकायमा अब नारीले डेरा जमाउन जरुरी छ । राजनीतिक, सामाजि,धार्मिक, साँस्कृतिक रुपमा पनि महिलाको सम्मान हुन जरुरी छ । पुरुषवादी चिन्तन र जडलाई भत्काउन अब नारीले भाषण मन्त्र जप गरे जस्तो नभई धरातलीय रुपमा समेत आफैले खुट्टा टिक्न जरुरी छ । वर्गीय, लैगिंक विभेद अन्त्य गर्न स्वयम नारीहरुले शिक्षित हुन जरुरी छ । राजनीति, आर्थिक, धार्मिक लगायतका कुनै पनि विभेद अन्त्य गर्न कागजील घोडा हैन अब कार्यान्वयनमा ध्यान पुर्यााउन राज्य संवेदनशील हुन जरुरी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।