Logo

शिक्षा

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय संचालन हुने



काठमाडौं जिल्ला प्रमुख अधिकारी (सिडिओ)सहित उपत्यकाका स्थानीय तहका प्रतिनिधिहरूबीच आज भएको बैठकले अगामी असोज १ गतेदेखि विद्यालय संचालन गर्न दिने निर्णय गरेको छ । बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर विद्यालय संचालन गर्न सकिने भन्ने निर्णय गरेको हो ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय संचाल गर्न अनुमति दिन सक्ने बताए । उनले भने– ‘विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्नुपर्ने र सोको नियमित नियमन स्थानिय तहले गर्नुपर्नेछ ।’

केही नगरपालिकाहरूले यसअघि नै विद्यालय खोल्न अनुमति दिएपनि अब सबै स्थानीय तहमा एकरूपले विद्यालय संचालन गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय संचालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् ।

तर विज्ञहरूले अहिले विद्यालय खोल्ने बेला नभएको भन्दै कम्तीमा दसैंरतिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए। जसले गर्दा विद्यालय खोल्ने तरखरमा रहेका काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै स्थानीय तहहरू त्यसबाट फेरि पछाडि हटेका थिए। अब भने डिसिसिएमसीले विद्यालय खोल्न सक्ने गरी निर्णय गरिदिएको छ।

सिडिओ पराजुलीले उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने निर्णय भए पनि पूर्णरूपमा विद्यालय संचालनमा आउन तिहारसम्म लाग्ने बताए । उनले भने– ‘असोज एक गतेदेखि विद्यालय खुल्ने भनेको ‘वार्मअप’ को लागि हो । तर पूर्णरूपमा विद्यालय सञ्चालन हुने दसैंरतिहारपछि नै हो ।’

पराजुलीले अहिले धेरै विद्यार्थीहरू अनलाइन कक्षा लिनबाट बञ्चित भएको भन्दै भौतिक रूपमै कक्षा संचालन गर्नुपर्ने स्थिति रहेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।