सुदुरपश्चिम प्रदेशमा नेकपा (एमाले) लाई गम्भीर धक्का लाग्दै गएको छ । एमालेका सांसदहरु लगातार नेकपा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)मा खुलेपछि त्यस्तो धक्का लागेको हो ।
पछिल्लो समय प्रदेश सांसद माया तामाङ बोहराले पनि नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । ओली पक्षीय सांसद बोहराले सोमबार निर्वाचन आयोगको धनगढीस्थित कार्यालयमा पुगेर एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् ।
उनीसहित एमालेका १४ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो पार्टी बनेको छ ।
गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक उनी पनि थिइन् । तर एमालेको विभाजनमा बोहराले ओली समूह छोडेर नेपालको एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।
५२ प्रदेश सभा रहेको सुदूरपश्चिममा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद छन् । सभामुख सहित एमालेका २५ सांसदमध्ये १४ जना एकीकृत समाजवादीमा गए पछि एमालेमा अब १० सांसद मात्रै छन् ।





















प्रतिक्रिया